
सुकुना बहुमुखी क्याम्पसमा निर्वाचित स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) कार्यसमिति सदस्यहरूले अध्यक्षमाथि विद्यार्थी कोषको गलत प्रयोग गरेको आरोप लगाएका छन्। समितिले आइतबार सार्वजनिक विज्ञप्ती जारी गर्दै अध्यक्षले विद्यार्थी हितभन्दा पर गई मनपरी ढंगले रकम खर्च गरेको भन्दै आपत्ति जनाएका हुन्।
समितिका अनुसार, अनेरास्ववियुको २४औं महाधिवेशनका क्रममा अध्यक्ष स्वयंले स्ववियु कोष प्रयोग गरी क्याम्पस प्रशासनबाट रकम निकालेको तथ्य सार्वजनिक भएपछि सम्पूर्ण सदस्यहरूको ध्यानाकर्षण भएको हो। “स्ववियु साझा संस्था हो, तर अध्यक्षले व्यक्तिगत स्वार्थका लागि स्रोत साधन दुरुपयोग गर्नु निन्दनीय मात्र नभई विद्यार्थी आन्दोलनबाट प्राप्त उपलब्धिमाथि आघात हो,” विज्ञप्तीमा उल्लेख छ।
समितिले अध्यक्षले २४ घण्टाभित्र क्याम्पस प्रशासनबाट बुझेको रकमको विवरण सार्वजनिक गर्नुपर्ने र स्ववियु बैठकबिना गरिएको कार्यबारे स्पष्टिकरण दिनुपर्ने माग गरेको छ। साथै भविष्यमा यस्ता गतिविधि दोहोरिन नदिन छुट्टै छानबिन समिति गठन गरी कारबाही प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिएको छ।
क्याम्पस प्रशासनलाई समेत प्रश्न गर्दै, समितिले अध्यक्षलाई रकम कसको आधारमा निकास गरिएको हो भन्नेबारे २४ घण्टाभित्र लिखित जवाफ दिनुपर्ने चेतावनी दिएको छ।
यस्तै, समितिले क्याम्पस सञ्चालक समिति र प्रशासनलाई पारदर्शिता, सहकार्य र सामूहिक नेतृत्वलाई सम्मान गर्ने नीतिगत व्यवस्था बनाउन आग्रह गरेको छ। अन्यथा, बहुमत सदस्यहरू चरणबद्ध आन्दोलनमा जाने चेतावनी दिइएको छ।
अहिले विद्यार्थीहरुले क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेको छ ।