दमक, मेची बहुद्देशीय सहकारी संस्था लिमिटेड दमकले आफ्नो २९ औँ वार्षिक उत्सव तथा ३१ औँ साधारण सभा सम्पन्न गरेको छ । आज भदौ १२ गते एकीकृत माइन्युट प्रमाणीकरण सभा सम्पन्न गरेसँगै संस्थाले साधारण सभा तथा वार्षिक उत्सवका सम्पूर्ण कार्यक्रमहरु सम्पन्न गरेको हो । गएको साउन २८ गते देखि सुरु भएको साधारण सभा विभिन्न सात एकाइमा विभाजन गरी  एकाइगत साधारण सभा गरिएको थियो । सबै एकाइबाट छनौट हुनुभएका प्रतिनिधीहरु सहभागि भई आज दमकको कस्मीक पार्टि प्यालेसमा एकीकृत माइन्युट प्रमाणीकरण सभामा  सम्पन्न भएको हो । कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री माननीय देवेन्द्र दाहाल प्रमुख अतिथि तथा राष्ट्रिय सहकारी महासङ्घका  वरिष्ठ उपाध्यक्ष रमेश पोखरेल महासंघ उपाध्यक्ष डीबी बस्नेत विशिष्ट अतिथिको रूपमा रहनुभएको थियो। साथै दमक नगरपालिकाका उपप्रमुख तथा विभिन्न वडाका वडाअध्यक्षहरू र विभिन्न सहकारी संस्थाका प्रतिनिधि तथा सहकारी अभियन्ताहरु अतिथिको रुपमा रहनुभएको थियो ।
आज भएको एकीकृत माइनेट प्रमाणीकरण सभामा विभिन्न क्षेत्रमा योगदान गर्नु भएका व्यक्तिहरूलाई पुरस्कृत समेत गरिएको थियो। सभामा हरेक वर्ष संस्था बाट प्रदान गरिदै आएको  स्वर्गीय गणेशप्रसाद बस्नेत स्मृति सहकारी अभियन्ता पुरस्कार बाट राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष डिबी बस्नेतलाई रु.३४,६६६ रुपैयाँ सहित सम्मान गरिएको छ । यस्तै स्वर्गीय गणेशप्रसाद बस्नेत स्मृति पत्रकारिता पुरस्कारबाट झापाका अग्रज पत्रकार माधव विद्रोहीलाई रु १३३३३ रुपैयाँ र मेची सहकारी पत्रकारिता पुरस्कारबाट उर्लाबारीका पत्रकार जगन्नाथ भट्टराईलाई रु १०,६६६ रुपैयाँ सहित पुरस्कृत गरिएको छ । यस्तै संस्थामा कार्यरत कर्मचारीहरू मध्येबाट उत्कृष्ट कार्यसम्पादनका आधारमा विभिन्न विभागमा कार्यरत कर्मचारीहरूलाई समेत पुरस्कृत गरिएको छ । पुरस्कृत हुनेहरुमा उत्कृष्ट सेवा कार्यालय रुपमा दमक सेवा कार्यालय, उत्कृष्ट कर्मचारीहरू देवेन्द्र गौतम र विशाल टुडु , उत्कृष्ट सेवा कार्यलय प्रमुखका रुपमा बेलबारी सेवा कार्यालय प्रमुख रमेश क्षेत्री, कर्जा विभाग उत्कृष्ट कर्मचारीमा कन्चन मिश्र, उत्कृष्ट कार्यालय सहायकमा पवित्रा देवी अधिकारी तथा उत्कृष्ट बजार प्रबन्धमा मिना न्यौपाने र प्रमोद न्यौपानेलाई पुरस्कृत गरिएको छ । साथै मेची सहकारी सन्चार गृह पुरस्कार बाट विर्तामोड बाट सन्चालित रेडियो भिजनलाई सम्मान गरिएको छ ।  सात इकाइमा विभाजन गरी गरिएको साधारण सभामा आज भएको एकीकृत माइन्युट प्रमाणीकरण सभामा सबै इकाइबाट प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
साथै संस्थाले साधारण सभा तथा वार्षिक उत्सवकै सन्दर्भमा गएको भदौ ११ गते बुधबार रक्तदान कार्यक्रम समेत आयोजना गरेको थियो। नेपाल सोसाइटी दमकको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा ६३ पेन्ट रगत सङ्कलन भएको थियो। संस्थाले हरेक वर्षको भदौ ११ गते रक्तदान कार्यक्रम गर्दै आएको छ ।
यसअघि गएको साउन २८ गतेबाट सुरु भएको एकाइगत साधारण सभा विभिन्न सात एकाइमा विभाजन गरेर सम्पन्न गरिएको थियो । दमक,उर्लाबारी,मिक्लाजुङ्ग, पथरी,बेलबारी, लेटाङ्ग, कमल गौरादह,शिवसताक्षि,कनकाई , विर्तामोड र  चुलाचुलिमा सेवा कार्यलय स्तरका बेग्ला बेग्लै एकाईगत साधारण सभा गरिएको थियो ।
साथै साधारण सभाका कार्यक्रम शुरु हुनु अगाबै निर्वाचनका कार्यक्रम सम्पन्न गरि नौ सदस्य नयाँ कार्यसमिति समेत सर्बसम्मत निर्वाचित गरिएको थियो ।
आजको कार्यक्रममा नवनिर्वाचित नयाँ कार्यसमितिलाई पद तथा गोपनीयताको शपथ ग्रहण समेत गराइएको निर्वाचन समिति संयोजक देवेन्द्र भण्डारीले बताउनुभयो । साथै पुरानो कार्यसमितीका सन्चालकहरुलाई हाल सम्मको योगदानको सम्मान गर्दै सन्चालक बाट विदाई समेत गरिएको थियो ।
कार्यक्रममा संस्थाका अध्यक्ष नारायण प्रसाद भट्टराईले संस्थाले हालसम्म गरिरहेका काम र भावी योजनाहरूको विषयमा जानकारी गराउनुभएको थियो कार्यक्रममा बोल्दै अध्यक्ष भट्टराईले यो वर्षदेखि सहकारीको विषयमा विद्यावारिधि गर्ने व्यक्तिलाई रु १ लाख प्रोत्साहन स्वरूप उपलब्ध गराउने कार्यक्रम सुरु गरेको बताउनुभयो।
साथै संस्थाका प्रमुख कार्यकारी अधिकृत होमप्रसाद बगालले गएको आर्थिक वर्षमा नेपाल सरकारलाई २ करोड ७४ लाख कर बुझाएको थियो । एउटा सहकारीले यति ठूलो रकम कर्सहरू बुझाए पनि राज्यले सहकारीलाई हेर्ने दृष्टिकोण अझै सुधार हुन नसकेको बताउनु भएको थियो ।
बहुउद्देश्य प्रकृतिको यस मेची बहुद्देश्य सहकारी संस्थाले यो वर्षदेखि मेची जल खानेपानी उद्योगको समेत सञ्चालन गर्ने अन्तीम तयारी गरेको छ । करिब ३ करोड लागतमा निर्माण भईरहेको खानेपानि उद्योग आगामि पौष महिना देखि सन्चालन गरिने तयारी गरिएको छ । यस अघि सहकारी आवास निर्माण गरि सदस्यहरुलाई हस्तान्तरण गरिसकिएको संस्थाले यो बर्ष सहकारी आवास २ निर्माण गर्न आवश्यक बजेट छुट्याईएको छ ।
संस्थाले झापा मोरङ र इलामका विभिन्न १२ वटा सेवा कार्यलयबाट करिब १८००० सदस्यलाई  सेवा दिइरहेको छ ।
विक्रम सम्बत २०५४ साल भदौ १२ गते दमकका २९ जना सदस्यहरूको एक लाख पैतालिस हजार पुँजीबाट सुरु भएको मेची बहुउद्देशय सहकारी संस्थाको हाल करिब साढे ४ अर्ब माथिको कुल दायित्व तथा सम्पत्ति रहेको छ । संस्थाले सदस्यलाइ विभिन्न ३४ किसिम भन्दा बढिका सेवासुविधाहरू प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय