
उर्लाबारी । संविधान दिवसको अवसरमा मोरङको उर्लाबारीमा प्रत्येक बर्ष आयोजना गरिँदै आएको उर्लाबारी रनको आठौं संस्करणमा तयारी थालिएको छ ।
शुक्रबार उर्लाबारी नगरपालिका वडा नं. ६ को कार्यालयमा पत्रकार सम्मेलन गर्दै संविधान दिवस असोज ३ गते हुने उर्लाबारी रनको आठौं संस्करणको तयारी थालिएको जानकारी गराइएको हो । नेपाल र भारतका २ सय भन्दा बढी धावकहरुले उर्लाबारी रनमा प्रतिस्पर्धा गर्ने आयोजक सामुदायिक विकास मञ्च उर्लाबारीले जनाएको छ ।
१२ वर्ष मुनी, १६ वर्ष मुनी, १६ देखि ४० र ४० वर्ष माथि उमेर (भेट्रान) समूहलाई छुट्टाछुट्टै प्रतिस्पर्धा गराइने मन्चका अध्यक्ष प्रेम वोहोराले जानकारी दिनुभयो । भेट्रानवाहेक प्रत्येक उमेर समूहमा महिला र पुरुषको छुट्टाछुट्टै दौड हुनेछ । १६ देखि ४० उमेर समूहका महिला तथा पुरुष प्रतिस्पर्धामध्ये प्रथम हुनेलाई ३१÷३१ हजार, द्वितिय हुनेलाई १६÷१६ हजार र तृतीय हुनेलाई ११÷११ हजार पुरस्कार प्रदान गरिनेछ ।
भेट्रानतर्फ प्रथम हुनेलाई १५ हजार, द्वितिय हुनेलाई सात हजार र तृतीय हुनेलाई पांच हजार पुरस्कार प्रदान गरिनेछ । १६ वर्ष मुनीका महिला तथा पुरुष प्रतिस्पर्धामध्ये प्रथम हुनेलाई ७÷७ हजार, द्वितिय हुनेलाई ५÷५ हजार र तृतीय हुनेलाई ३÷३ हजार पुरस्कार प्रदान गरिनेछ । १२ वर्ष मुनी उमेरका भने उर्लाबारी नगर क्षेत्रमा वसोवास गरेको हुनुपर्ने र यो उमेर समूहका प्रथम हुनेलाई ५÷५ हजार, द्वितिय हुनेलाई ३÷३ हजार र तृतीय हुनेलाई १÷१ हजार पुरस्कार प्रदान गरिने कार्यक्रम संयोजक ध्रुबचन्द्र पराजुलीले जानकारी दिनुभयो ।
‘स्वास्थ्यका लागि दौड’ भन्ने मूल नाराका साथ आयोजना गरिने उक्त प्रतियोगिता सम्पन्न गर्न १३ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । दौड प्रतियोगिताको प्रचार प्रसारको कार्यलाई तीब्र पारिएको र राष्ट्रिय धावकहरुको समेत सहभागिता हुने सचिब महेन्द्र बोहोराले जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा वडा नं. ६ का वडाध्यक्ष चिन्तामणि पौडेल, वडा नं. ४ वडाध्यक्ष कल्याणकुमार राई, नेकपा माओवादी केन्द्र उर्लाबारीका अध्यक्ष गजेन्द्र दंगाल, नेपाली कांग्रेस उर्लाबारीका सचिब राजन रायमाझी, राप्रपा उर्लाबारीका उपाध्यक्ष छिरिङ तामाङ, उर्लाबारी उद्योग वाणिज्य संघका उपाध्यक्ष विकास बुढाथोकी, सञ्चार क्लब उर्लाबारीका अध्यक्ष कुमार खड्कालगायतको उपस्थिति रहेको थियो ।