उर्लाबारी । मोरङको मिक्लाजुङ गाउँपालिका–८ का सम्पूर्ण विद्यालयमा अब शुद्ध खानेपानीको सुविधा उपलब्ध भएको छ ।
वडाले चार वटा सामुदायिक र संस्थागत विद्यालयका प्रत्येक कक्षाकोठामा जार र फिल्टर वितरण गरेको हो । वडाध्यक्ष पूर्णबहादुर कुँवर (प्रवेश) ले भन्नुभयो–‘विद्यालय तहमै शुद्ध खानेपानीको व्यवस्था गरेर हामीले ‘स्वस्थ विद्यार्थी, स्वस्थ नागरिक’ भन्ने अवधारणालाई साकार पार्ने प्रयास गरेका छौं । यो केवल खानेपानी वितरण मात्र होइन, स्वास्थ्यप्रति वडाको दीर्घकालीन प्रतिबद्धता हो ।’ कार्यक्रममा इलाका प्रहरी कार्यालय मधुमल्लाका इन्चार्ज मछिन्द्र लिम्बूले विद्यार्थीलाई लागुऔषध दुरुपयोगविरुद्ध सचेतना प्रदान गर्नुका साथै ट्राफिक नियमलगायतका विषयमा जानकारी दिनुभयो । विद्यालयका शिक्षक र विद्यार्थीहरू दुवैले खानेपानी सुविधा सुरु भएपछि पठन–पाठन र स्वास्थ्यमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरेका छन् ।























