
संगीता राई
पथरीशनिश्चरे, मोरङको पथरीशनिश्चरे नगरपालिकामा जन्मेकी रिजु भट्टराईले अहिले केवल नगरकै नभई सम्पूर्ण नेपालको नाम विश्व मञ्चमा उँचो राख्ने जिम्मेवारी वहन गरेकी छन्। २२ वर्षमै उनले मिस ग्लोब नेपाल २०२५ को ताज जित्दै नेपालको प्रतिनिधित्व गर्ने अधिकार पाएकी छन्।
अब उनी युरोपेली राष्ट्र अल्बानियामा सेप्टेम्बर २५ देखि अक्टोबर १५ सम्म हुने मिस ग्लोब २०२५ मा विश्वका ६० भन्दा बढी देशका प्रतिस्पर्धीहरूसँग प्रतिस्पर्धा गर्न तयारी गर्दैछिन्।
गाउँबाट अन्तर्राष्ट्रिय मञ्चसम्म
सामान्य परिवेशमा हुर्केकी रिजुले स्थानीय न्यु पेगोडा अङ्ग्रेजी स्कुलबाट एसईई र पञ्चायत माविबाट विज्ञान विषय लिएर कक्षा १२ उत्तीर्ण गरेकी हुन्। हाल उनी रसायनशास्त्र विषयमा उच्च शिक्षा अध्ययरत छिन्। विद्यालय तहदेखि नै उनी नृत्य, वक्तृत्वकला, वादविवाद तथा सांस्कृतिक कार्यक्रममा सक्रिय रहँदै उत्कृष्ट प्रदर्शन गर्ने गर्थिन्। यही निरन्तर लगनशीलता र आत्मविश्वासले उनलाई आज अन्तर्राष्ट्रिय मञ्चमा पुर्याएको हो।
“रिजु भट्टराई जिताऔँ अभियान”
उनको सहभागितालाई समर्थन गर्न गृहनगर पथरीशनिश्चरेमा “रिजु भट्टराई जिताऔँ अभियान” सुरु गरिएको छ। सोमबार पथरी जेसिजले पत्रकार सम्मेलनमार्फत अभियानको घोषणा गर्यो। अभियानको संयोजकमा पथरी जेसिजका पूर्वअध्यक्ष राजकुमार विश्वकर्मा, कोषाध्यक्षमा सुवर्ण खत्री र सचिवमा सुमन कुरुम्बाङलाई जिम्मेवारी दिइएको छ।
अभियान संयोजक विश्वकर्माले भने–“रिजु अब गाउँकी मात्र होइन, सम्पूर्ण नेपालको आशा भएकी छन्। सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले उनलाई जिताउन हातेमालो गरौँ।” कार्यक्रममा जेसिज अध्यक्ष निर्मला भट्टराई, पदाधिकारी तथा स्थानीय अभियन्ताहरूको उपस्थिति थियो।
परिवारको अपेक्षा
रिजुका पिता प्रह्लाद भट्टराईका अनुसार प्रतिस्पर्धामा सहभागी हुन यात्रा र तयारीमा ठूलो खर्च हुने भएकाले सबैबाट सहयोगको अपेक्षा गरिएको छ। हाल रिजु राजधानीमा रहेर भाषिक दक्षता, प्रस्तुतिको शैली, आत्मविश्वास र अन्तर्राष्ट्रिय संस्कृतिको ज्ञान अभिवृद्धिमा व्यस्त छिन्।
रिजुको प्रतिबद्धता
रिजु भन्छिन्–“यो मेरो व्यक्तिगत यात्रा मात्र होइन, यो नेपालको पहिचान हो। गाउँबाट सुरु भएको मेरो सपना अहिले विश्व मञ्चमा पुगेको छ। सबै नेपालीको साथसहयोगले यसलाई जितमा परिणत गर्न चाहन्छु।”
केवल सौन्दर्य प्रतियोगिता मात्र होइन
रिजुको सहभागिता सौन्दर्य प्रतियोगिता सीमित नभई महिला सशक्तीकरण, शैक्षिक प्रेरणा, राष्ट्रिय पहिचान र युवाका लागि उदाहरणीय प्रेरणा पनि हो। “रिजु भट्टराई जिताऔँ अभियान” ले स्थानीय ऐक्यबद्धता, राष्ट्रिय गौरव र अन्तर्राष्ट्रिय स्तरमा नेपालको पहिचान प्रबद्र्धन गर्ने उद्देश्य बोकेको छ।