विराटनगर । सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णय र बढ्दो भ्रष्टाचारको विरोधमा युवाहरुले आन्दोलन गर्ने भएका छन् ।
‘दी फाइनल रिभोलुसन– वी आर पञ्चिङ अप,’ ८ सेप्टेम्बरको मिति तोकेर जेनजी अर्थात् नयाँ पुस्ताले माइतीघर मण्डला र संसद् भवन अगाडि आन्दोलनको घोषणा गरेको हो ।

सामाजिक सञ्जाल बन्द भएसँगै नयाँ पुस्ताले यो आन्दोलनको नेतृत्व लिने घोषणा गरेको हो । उनीहरूले सोमबार माइतीघर मण्डलामा भेला हुने तयारी गरेका छन् । नेतृत्व कसले गर्छ, भन्ने टुङ्गो छैन । तर, उद्देश्य सत्ताको मनोमानीविरुद्ध ‘जेनजी विद्रोह’ भनिएको छ ।सामाजिक सञ्जालबाट सुरु भएको यो आन्दोलनले देशभर सरकारको मनोमानी तथा भ्रष्टाचार र असमानताको मुद्दामा सडकमा ल्याउन लागेको हो । टिकटकदेखि सबैतिर अहिले यो ट्रेण्ड चलेको देखिन्छ ।

पुराना पुस्ताका नागरिकले पनि जेनजीको यो आन्दोलनलाई साथ दिने भन्दै समर्थन जनाइरहेका छन् । सामाजिक सञ्जाल फेसबुकमा सक्रिय समूह ‘एमआरआर’लगायतमा पनि इनरुवा, धरानजस्ता सहरमा पनि जेनजीले आन्दोलन छेड्ने घोषणा गरिएका छन् । यसमा अधिकांशको समर्थन देखिन्छ । पछिल्ला आक्रोशलाई हेर्दा विशेषगरी सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णय र बढ्दो भ्रष्टाचारलाई लिएर उनीहरू असन्तुष्ट देखिन्छन् ।

यो आन्दोनमा स्टार्टअप उद्यमीहरुले पनि उत्तिकै साथ दिइरहेका छन् । राइड सेयरिङ प्ल्याटफर्म पठाओका संस्थापक सीईओ असिममान सिंहले पनि टिकटकमा आह्वान गरेका छन्, ‘८४ सम्मको लागि कुर्ने हैन परिवर्तनको लागि । डिजिटल उपस्थिति जति महत्वपूर्ण छ, भौतिक उपस्थिति आवश्यक छ । त्यसैले म आफैँ सोमबार आन्दोलनमा आउँछु । तपाईंहरुलाई पनि आउन आह्वान गर्छु ।’

युवाहरुको आह्वानलाई काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले पनि समर्थन गरेका छन् । सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम लगायतका ‘स्टोरिज’मा पनि यो अभियानले व्यापकता पाएको छ । ‘अभिव्यक्ति स्वतन्त्रताको जति नै गफ दिएपनि नेताहरु हाम्रो आवाज दबाउन चाहन्छन् । हुँदाहुँदा अहिले आएर सामाजिक सञ्जाल नै बन्द गरिदिए । कस्तो लाजमर्दो । अब हामी चुप बस्दैनौँ– इनफ इज इनफ’ युवाहरुको आक्रोश छ ।

जेनजीहरुले सुरु गरेको यो आन्दोलन विशेष र महत्वपूर्ण रहेको टिप्पणी सामाजिक सञ्जालतिर देखिन्छ । अग्रज पत्रकार एवं लेखक सुधीर शर्मा यो बाढीले ०८४ सालसम्ममा (र, सायद अहिल्यै पनि) धेरैलाई बगाउनसक्ने चेतावनी दिएका छन् ।
‘हाम्रो राजनीतिक वर्गले जेनजीलगायत नयाँ पुस्ताको भाव, भंगिमा र भाषामात्र हैन, उनीहरुको आकांक्षा र सपनालाई पनि बुझ्न सकिरहेको थिएन । त्यसैले उनीहरुबीच दूरि क्रमशः बढिरहेको थियो,’ सामाजिक सञ्जाल बन्दको कारण यस्तो भएको बताउँदै शर्माले लेखेका छन्, ‘अब भर्चुअल आवज ढिलोचाँडो सडकमा र अन्यत्र पोखिने सम्भावना छ ।’

सरकारले सामाजिक सञ्जाल निष्क्रिय बनाउने निर्णय गरेपछि भर्चुअल दुनियाँमा रमाइरहेका युवाहरु भौतिकरूपमै आन्दोलन गर्न लागेका हुन् । नेपाल सरकारले केही दिनअघि सामाजिक सञ्जाल सञ्चालन निर्देशिका २०८० अनुरूप सूचीकरण नभएका फेसबुक लगायत सामाजिक सञ्जालहरूलाई निष्क्रिय बनाउने निर्णय गरेपछि युवाहरूको ठूलो जमात रुष्ट छ ।
सोसल मिडिया इन्फ्लुएन्सर, क्रियटरदेखि सामाजिक सञ्जालमै आफ्नो करिअर बनाइरहेकाहरू छट्पटिएका छन् । यसैको परिणति हो, भोलि माइतीघरमा हुन लागेको आन्दोलन ।

सरकारले निष्क्रिय बनाएको सामाजिक सञ्जाल बिनासर्त पुनः सक्रिय बनाउनुपर्ने, अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा राजनीतिक नियुक्ति होइन, निष्पक्षरूपमा आयुक्त नियुक्त गर्नुपर्ने र बुढा नेताहरूले पुनः प्रधानमन्त्री नबन्ने प्रतिबद्धता जनाउनुपर्ने युवाहरुको माग रहेको देखिन्छ ।

अहिले टिकटकमा नेताका छोराछोरी र आफन्तको विलासी जीवनशैलीलाई एक्सपोज गर्ने अभियान समेत चलिरहेको छ । इन्डोनेसियाबाट सुरू भएको यो अभियान अहिले नेपालमा आइपुगेको हो । हाइप्रोफाइल नेता र कर्मचारीहरूका सन्तानका विलासी जीवनशैली एक्सपोज गरिएका भिडिओहरू टिकटकमा भाइरल भइरहेका छन् ।

करिब सन् १९९७ देखि सन् २०१२ सम्ममा जन्मिएको पुस्तालाई जेन जेड वा जेन जी भनिन्छ । विशेष गरेर यो पुस्ताको दृष्टिकोण र जीवनशैलीलाई जेन जेड भनेर भन्ने गरेको पाइन्छ । इन्टरनेट, स्मार्टफोन, युट्युब र विभिन्न सामाजिक सञ्जालहरूसँगै हुर्किएको पुस्तालाई जेन जेड वा जेन जी भनिन्छ ।

यो पुस्ता एआईसँग पनि उत्तिकै नजिक छ । वैश्विक ज्ञान आर्जन गर्नमा चासो राख्ने, उद्यमशीलताप्रति रुचि भएका र एआई टुल्सहरू राम्रोसँग प्रयोग गर्न सक्छन् ।सन् २०१३ देखि सन् २०२४ को दशकमा जन्मिएर स्मार्ट फोन, ट्याब्लेट, एआई, इन्टरनेट र युट्युब लगायत प्ल्याटफर्मसँगै खेल्दै हुर्किएका पुस्तालाई जेन अल्फा भनिन्छ । त्यस्तै सन् २०२५ देखि सन् २०३९ सम्म जन्मिएकाहरूको दृष्टिकोण र जीवनशैलीलाई जेन बिटा भनिनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय