
देशभरि प्रहरी चौकीहरूमा आक्रमण बढिरहेका बेला झिलझिले इलाका प्रहरी कार्यालयका प्रहरी सहायक हबल्दार मनिष लिम्बूले अदम्य साहस देखाएर कार्यालयलाई सुरक्षित राख्नुभएको छ ।
उच्च कमाण्डबाट सुरक्षाकर्मीलाई सुरक्षित स्थानतर्फ फर्किन निर्देशन आएपछि धेरै प्रहरीहरु आफ्नो गन्तव्यतर्फ लाग्नुभयो । तर, लिम्बू भने एक्लै स्थानीयसँग समन्वय गर्दै कार्यालयमा कुनै पनि भौतिक क्षति हुन नदिन अन्तिमसम्म जिम्मेवारीमा डटिरहनुभयो । उहाँको निरन्तर प्रयास र साहसका कारण झिलझिले इलाका प्रहरी कार्यालयमा कुनै पनि तोडफोड वा क्षति हुन पाएन । स्थानीयहरूले समेत लिम्बूको बहादुरीको प्रशंसा गरेका छन् । ‘नेपाल प्रहरीका योद्धा मनिष लिम्बूले जुन आत्मसमर्पण र साहस देखाउनुभयो, त्यो संगठनकै लागि गौरवको कुरा हो,’ एक स्थानीयले भने ।