उर्लाबारी । जेन–जी आन्दोलनका क्रममा भएको आगलागी र तोडफोडले क्षति पुगेको उर्लाबारी नगरपालिकाको प्रशासनिक भवन पुनःनिर्माण अभियान तीव्र बनेको छ ।
यसै क्रममा नगर प्रमुख गंगाप्रसाद खरेलले ऐतिहासिक निर्णय गर्दै आगामी ६ महिनासम्म आफ्नो सेवासुविधा नलिने घोषणा गर्नुभएको छ । खरेलका अनुसार करिब २ लाख २४ हजार रुपैयाँ बराबरको सो रकम नगरपालिकाको प्रशासनिक भवन पुनःनिर्माण तथा कार्यालय पुनःस्थापनामा खर्च गरिनेछ ।
उहाँले भन्नुभयो–‘नगरको सम्पत्ति हाम्रो सामूहिक सम्पत्ति हो । यसलाई पुनःस्थापित गर्न सबैले हातेमालो गर्नुपर्छ । नगरप्रमुखको हैसियतमा म आफैं ६ महिनाको सेवासुविधा यसैमा समर्पित गर्ने संकल्प गरेको छु ।’ नगर प्रमुख खरेलको यो घोषणा स्थानीयवासीले उच्च सम्मानका साथ स्वागत गरेका छन् । नगरवासीहरूले यसलाई जनप्रतिनिधिको त्याग र प्रतिबद्धताको प्रेरणादायी उदाहरण भन्दै प्रशंसा गरेका छन् । यसअघि विभिन्न व्यवसायी, सामाजिक संस्था र स्थानीय बासिन्दाले पनि सार्वजनिक सम्पत्ति पुनःनिर्माणमा सहयोग गर्दै आएका छन् ।























