उर्लाबारी । जेन–जी आन्दोलनका क्रममा भएको आगलागी र तोडफोडका कारण उर्लाबारी नगरपालिका तथा वडा कार्यालयको प्रशासनिक संरचना गम्भीर रूपमा प्रभावित भएको छ ।
नगरका ९ वटै वडा कार्यालयसहित नगर कार्यपालिकाको भवनमा ठूलो क्षति पुगेको नगर प्रमुख प्रशासकीय अधिकृत अभयकुमार गुप्ताले जानकारी गराउनुभयो । उहाँका अनुसार आन्दोलनका घटनाबाट नगरपालिकाले करिब ७ करोड १८ लाख ४३ हजार ३ सय रुपैयाँभन्दा बढी मूल्य बराबरको क्षति व्यहोर्नुपरेको छ । आगजनीमा कार्यालयका महत्वपूर्ण कागजात, कम्प्युटर, प्रिन्टरलगायतका उपकरण नष्ट हुनुका साथै सवारीसाधनसमेत जलाइएका थिए । यस्तै, प्रदर्शनकारीहरूले केही जिन्सी सामान चोरी गरेका घटनाहरू पनि सार्वजनिक भएका छन् । यसैबीच, क्षति मूल्यांकन प्रतिवेदन सार्वजनिक गर्ने कार्यक्रममा स्थानीय व्यवसायी, समाजसेवी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरू उपस्थित थिए । उनीहरूले पुनःनिर्माण र सेवाप्रवाहलाई सहज बनाउन नगद तथा जिन्सी सहयोग गर्ने घोषणा गरेका छन् । नगर प्रशासनले भने पुनःस्थापना र पुनर्निर्माणलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएको छ ।























