पथरी शनिश्चरे, पथरी शनिश्चरे नगरपालिकाको १० वटै क्षतिग्रस्त वडा कार्यालयहरूको अनुगमन गरिएको छ ।
गत भदौ २४ गते जेनजी आन्दोलनका कारण क्षतिग्रस्त वडा कार्यालयहरुको आज नगर उप–प्रमुख एवं अनुगमन समितिको संयोजक देविमाया काफ्लेको अगुवाईमा अनुगमन गरिएको हो ।
सो अनुगमनमा नगर प्रमुख मोहन प्रसाद तुम्वापो, निवर्तमान नगर प्रमुख दिलिप कुमार राई (किशोर), वडा अध्यक्षहरु, अनुगमन समितिको सदस्यहरु, कार्यपालिका सदस्य, वडा सदस्यहरू र नगर प्रहरीको उपस्थिति रहेको थियो । क्षतिग्रस्त वडा कार्यालयहरुको अनुगमन पश्चात् उप–प्रमुख देविमाया काफ्लेले जति सक्दो चाँडो मर्मत् संभार पश्चात् वडा कार्यालय मार्फत् हुने सेवाहरु सुचारु गर्नुपर्ने बताउनुभयो ।
आन्दोलनका कारण नगरपालिकाको कार्यालय, वडा कार्यालयहरु, आधारभूत स्वस्थ्य केन्द्र कम्प्युटर, प्रिन्टर, इन्टरनेट, विद्युत मिटरबक्स, फर्निचर, कागजपत्र, एसी, फ्रिज विहिन अवस्थामा रहेको छ । सेवा सुचारु गर्न नगरपालिकाको कार्यालय र वडा कार्यालयहरूमा मिटरबक्स जोड्ने कार्य अन्तिम चरणमा पुगेको नगरका प्रशासन शाखा प्रमुख लुकनाथ पोखरेलले जानकारी दिनुभयो ।























