उर्लाबारी । जेन जी आन्दोलनको क्रममा उर्लाबारी नगरपालिकासहित ९ वटै वडा प्रभावित बन्यो । त्यसपछि नगर र वडामा पुननिर्माणका लागि विभिन्न संघ–संस्थाले सहयोग पु¥याइरहेका छन् । यस्तै सहयोगी हात लम्ब्याउने संस्थामध्ये उर्लाबारी–१ स्थित पूर्वेली क्रसर उद्योग पनि एक हो ।
हालसम्म सबैभन्दा ठूलो सहयोग गर्नेमा यो उद्योग पर्दछ । करिब ५ लाख ४० हजार रुपैयाँभन्दा बढी बराबरको विद्युतिय सामग्री हस्तान्तरण गर्दै उद्योगले फेरि एक पटक आफ्नो सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्धता देखाएको छ । उद्योगका अध्यक्ष सुरेन्द्र लिम्बूको नेतृत्वमा मंगलबार आयोजित एक औपचारिक कार्यक्रममार्फत सामग्री नगर प्रमुख गंगाप्रसाद खरेललाई हस्तान्तरण गरिएको हो ।
सो अवसरमा नगर प्रमुख खरेलले स्थानीय उद्योग, संघ–संस्था तथा व्यक्तिहरूबाट प्राप्त सहयोगलाई उच्च प्रशंसा गर्दै, ‘यस्ता सहयोगहरूले नगरपालिकाको सेवा प्रवाह सहज र प्रभावकारी बन्ने छ’,” भन्ने प्रतिक्रिया दिनुभयो । त्यसैगरी, पूर्वेली क्रसर उद्योगका अध्यक्ष सुरेन्द्र लिम्बूले भन्नुभयो,‘हाम्रो उद्योग केवल व्यवसायिक नाफामै केन्द्रीत छैन, समाजसँग जोडिएको छ । नगरवासीले दुःख–कष्ट भोगिरहेका बेला साथ दिनु हाम्रो दायित्व हो । आगामी दिनमा पनि जहाँ आवश्यक पर्छ, हामी सहयोगका लागि सधैँ तयार रहनेछौँ ।’ पूर्वेली क्रसर उद्योग यसअघि पनि विभिन्न सामाजिक तथा सामुदायिक पहलमा सक्रिय रहँदै आएको छ । यसपटकको सहयोगमार्फत उद्योगले फेरि एकपटक ‘उद्योग समुदायसँगै’ भन्ने सन्देश दिन सफल भएको छ ।

आजको कठिन घडीमा स्थानीय उद्योग र व्यवसायीहरूको सक्रियता नगर पुननिर्माण मात्र नभई समाजमा एकता र सहकार्यको प्रेरणाका रूपमा समेत देखा परेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय