उर्लाबारी । यात्रुहरूको सहज आवतजावत र सूचना प्रवाहलाई थप व्यवस्थित बनाउन उर्लाबारीमा यात्रु सहायता कक्ष सञ्चालनमा आएको छ ।
इलाका प्रहरी कार्यालय उर्लाबारी, ट्राफिक पोस्ट र नगर प्रहरीले बुधबारदेखि सहायता कक्षलाई नियमित सेवा दिने गरी सुरु गरेको हो ।
सहायता कक्ष उद्घाटन समारोहमा इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रञ्जन बरालले यात्रु सहायता कक्षको सञ्चालनले यात्रुहरूलाई मार्गदर्शन, आवश्यक जानकारी तथा आकस्मिक अवस्थामा सहयोग उपलब्ध गराउने बताउनुभयो । उक्त कार्यक्रममा उर्लाबारी उद्योग वाणिज्य संघका अध्यक्ष तारामान सिरेङ लिम्बुलगायत व्यवसायी र स्थानीय सरोकारवालाको उपस्थिति रहेको थियो । सहभागिहरूले सहायता कक्षको सुरुवातले उर्लाबारीलाई थप सुरक्षित र व्यवस्थित बनाउन मद्दत गर्ने विश्वास व्यक्त गरेका छन् । प्रहरीले यात्रु सहायता कक्षबाट दैनिक यात्रुहरूको समस्या समाधान, यातायात व्यवस्थापनमा सहयोग, हराएको सामान सम्बन्धी जानकारी दिने लगायतका सेवा उपलब्ध हुने जनाएको छ ।























