दमक । दशैंको माहोलसँगै मेची बहुउद्देश्यीय सहकारी संस्था लि.ले आफ्ना ज्येष्ठ शेयर सदस्यलाई सम्मान गर्दै सहकारी परिवारमा खुसीको तरंग भरेको छ । झापाको दमकस्थित मुख्य कार्यालयबाट सुरु गरिएको यो कार्यक्रम दमक, उर्लाबारी र कमल सेवा केन्द्रमा गरेको छ ।
संस्थाले यस वर्ष मात्रै १ सय ४० जनाभन्दा बढी ज्येष्ठ शेयर सदस्यलाई नगदसहित सम्मान गरेको छ । ७० वर्ष उमेर पुगेका र सदस्यता १० वर्ष पूरा गरेका सदस्यलाई जनही १९ सय रुपैयाँ नगदसहित थर्मस प्रदान गरिएको हो । दमकमा १११ जना, कमलमा १७ जना र उर्लाबारीमा १४ जना ज्येष्ठ शेयर सदस्यले सम्मान पाएका छन् । संस्थाका अध्यक्ष नारायणप्रसाद भट्टराईले मेची सहकारीका ज्येष्ठ शेयर सदस्यलाई संस्थाको धरोहर बताउँदै प्रत्येक वर्ष सम्मान गर्ने परम्परा कायम रहेको जानकारी दिनुभयो । उहाँका अनुसार सहकारीले हाल सदस्यका लागि ३२ प्रकारका सुविधा प्रदान गर्दै आएको छ ।
१४ वर्षअघि वार्षिक ५ सय रुपैयाँबाट सुरु भएको यो सम्मान कार्यक्रम अहिले वार्षिक १९ सय रुपैयाँसम्म पुगेको छ । प्रमुख कार्यकारी अधिकृत खोमप्रसाद बगालेका अनुसार प्रत्येक वर्ष १ सय रुपैयाँ थप्दै लगिँदा कार्यक्रम अझ सबल र प्रभावकारी बन्दै गएको छ ।
संस्थाकी उपाध्यक्ष तथा महिला, बालबालिका र ज्येष्ठ नागरिक संरक्षण उपसमिति संयोजक मीनाकुमारी कोइरालाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सम्मानित ज्येष्ठ शेयर सदस्यहरुले संस्थाप्रति आभार प्रकट गर्नुभएको छ । त्यस्तै, उर्लाबारी सेवा केन्द्रका प्रमुख इन्द्रप्रसाद रेग्मीले मेची सहकारीले सदस्यका लागि अधिकतम सेवा दिन प्रतिबद्ध रहेको बताउनुभयो ।
ज्येष्ठ सदस्य सम्मानसँगै मेची सहकारीले सामाजिक उत्तरदायित्व अन्तर्गत पनि योगदान दिइरहेको छ । हालै भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा क्षतिग्रस्त बनेको उर्लाबारी नगरपालिकालाई सहयोगस्वरूप कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरिएको छ । करिब ५५ हजार रुपैयाँ बराबरका यी सामग्री संस्थाका अध्यक्ष भट्टराई र प्रमुख कार्यकारी अधिकृत बगालेसहित पदाधिकारीहरूले नगरपालिकामै पुगेर हस्तान्तरण गर्नुभएको छ । ज्येष्ठ सदस्य सम्मानदेखि सामाजिक सहयोगसम्मको क्रियाकलापले मेची सहकारीलाई सदस्यमैत्री मात्र नभई समाजमैत्री संस्थाका रूपमा प्रस्तुत गरेको छ । दशैंको सन्दर्भमा गरिएको सम्मान कार्यक्रममा सहभागी ज्येष्ठ शेयर सदस्यहरुको अनुहारमा झल्किएको खुसी नै सहकारीले बोकेको साझा भावनाको प्रतिविम्ब हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय