उर्लाबारी । मिक्लाजुङ गाउँपालिका–२ का वडाध्यक्ष बलबहादुर श्रेष्ठले सामाजिक उत्तरदायित्वलाई व्यवहारमा उतार्दै दुःखको घडीमा वडावासीलाई सहारा दिने नयाँ पहल अघि सार्नुभएको छ ।
‘सुखदुःखमा वडावासीसँगै’ भन्ने भावनालाई आत्मसात गर्दै वडा कार्यालयले हालै मृतक परिवारलाई राहत दिने कार्यक्रम सुरु गरेको हो । वडाको निर्णयअनुसार, वडाभित्र कुनै परिवारमा सदस्यको निधन भएमा अन्त्येष्टि (मलामी खर्च) तथा आवश्यक सामग्री खरिदका लागि अधिकतम १० हजार रुपैयाँसम्म सहयोग प्रदान गरिनेछ ।
यो कदमले केवल आर्थिक सहयोग मात्र नभई, पीडित परिवारलाई ‘पीडामा तपाईँ एक्लो हुनुहुन्न, वडा पनि साथमा छ’ भन्ने आत्मीय सन्देश दिएको स्थानीयवासीहरू बताउँछन् । वडाध्यक्ष श्रेष्ठले भन्नुभयो–‘समाजमा सुखको क्षणमा मात्र होइन, दुःखको घडीमा पनि एकअर्काको साथ आवश्यक हुन्छ । वडाले गर्ने सानो सहयोगले पीडित परिवारलाई ठूलो आत्मबल मिलोस् भन्ने हाम्रो चाहना हो ।’ स्थानीयहरूले यस निर्णयलाई मानवीयता र आत्मीयताले भरिएको कदम भन्दै प्रशंसा गरेका छन् । उनीहरूका अनुसार यो केवल सहयोगको रकम मात्र नभई सामाजिक एकतामा गाँसिएको भावनाको प्रतीक हो, जसले वडालाई ‘जनताको साथी’ को रूपमा प्रस्तुत गरेको छ ।























