उर्लाबारी । दशैं–तिहारलाई लक्षित गरी एन्जल फाउण्डेशनले उर्लाबारीको हाटखोलादेखि बरगाछीसम्म सरसफाइ अभियान सञ्चालन गरेको छ ।
चाडपर्वको समयमा बजार क्षेत्र सफा र व्यवस्थित देखियोस् भन्ने उद्देश्यले गरिएको अभियानमा स्काउट, सशस्त्र प्रहरी बल तथा स्थानीयवासीहरूको सक्रिय सहभागिता रहेको थियो ।
फाउण्डेशनका प्रमुख कार्यकारी अधिकृत जयसिं राजवंशीले सरसफाई अभियानलाई केवल चाडपर्वका लागि मात्र नभई निरन्तर सामाजिक दायित्वका रुपमा अगाडि बढाउने योजनाबारे जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘हामीले सफा र स्वच्छ वातावरण सिर्जना गर्न सामूहिक प्रयासलाई प्राथमिकता दिएका छौं । यस अभियानले सबैमा चेतना जगाउने अपेक्षा राखेका छौं ।’ त्यस्तै, प्रबन्धक सन्तोष कार्कीले फाउण्डेशन सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै आगामी दिनमा अन्य क्षेत्रमा पनि सरसफाइ र सामाजिक कार्यलाई निरन्तरता दिने बबताउनुभयो । अभियानमा सहभागी स्थानीयवासीले चाडपर्वको रमझमसँगै सफा वातावरणमा उत्सव मनाउन पाउनु ठूलो खुसीको विषय भएको प्रतिक्रिया दिएका छन् ।























