उर्लाबारी । मोरङको उर्लाबारी– ७ मा रहेको नमूना बालगृह यसपालि दशैंको रौनकभन्दा बेग्लै भावनामा बाँधिएको छ । बालबालिकाको हाँसो र टोलभरि गुञ्जिने टोलटोलको दशैं रमाइलो यसपटक बालगृहमा सुनसान भयो ।
बालगृहकी अध्यक्ष मिनादेवी बरालका अनुसार यस वर्ष आश्रित बालबालिकालाई टिका नलगाउने निर्णय गरिएको हो । उहाँले भन्नुभयो, ‘देश शोकमा छ, आफ्नै नानीबाबु जस्ताको मृत्यु भएको छ, यस्तो अवस्थामा हामी कसरी टिका लगाउँछौं ?’
जेन जी आन्दोलनमा ज्यान गुमाएका युवाहरूको स्मृतिले दशैंलाई यस वर्ष धेरै परिवारको घरमा अन्धकार बनाइदिएको छ । नमूना बालगृहले पनि यही पीडा आत्मसात् गरेको छ । चाडपर्व भनेको एकअर्कामा खुशी बाँड्ने, आशीर्वाद दिने समय हो तर बराल भन्नुहुन्छ, ‘अभिभावकविहीन भएर यहाँ आएका यी बालबालिका पनि अर्काको सन्तान नै हुन् । अहिलेको शोकलाई बिर्सेर उत्सव मनाउनु उनीहरूको मनमाथि घाउ थप्नु जस्तै हुने भएकाले टिका नगर्ने निर्णय गरेका हौं ।’ बालबालिकाले भने दशैं नमनाउनुपरेकोमा दुःखभन्दा बढी समाजका अन्य बालबालिका जस्तै आफूहरू पनि देशको पीडा महसुस गर्नुपर्ने कुरा बुझाएको बताएका छन् । उनीहरूलाई टिका नलगाइए पनि चाडबाडको अर्थ, संस्कार र वर्तमान अवस्थाबारे बुझाइ दिन विशेष कार्यक्रम भने गरिएको छ ।
नमूना बालगृहको यो निर्णयले चाडबाडमा पनि सामाजिक उत्तरदायित्व कस्तो हुन्छ भन्ने सन्देश दिएको छ । जहाँ चाडपर्वको रमाइलो छ्याङ्गछ्याङ्ग गुञ्जिरहेको बेला, उर्लाबारीको यो बालगृह शोकमा रहेका परिवारसँग आत्मीयता जोडिरहेको छ । बरालको भनाइमा,‘दशैं मनाउन पाइन्छ, तर अरूलाई आघात दिने गरी होइन । मृतक आत्माको सम्झनामा मौन बस्नु पनि एउटा पूजाजस्तै हो ।’























