
चितवन, लगातारको वर्षासँगै आज दिउँसो मुग्लिन–नारायणगढ सडक खण्डमा पहिरो खस्दा सवारी आवागमन अवरुद्ध भएको छ। दिउँसो करिब ४ः३० बजे तुईन खोलानजिकै माथिबाट ढुंगा खस्ने जोखिम उच्च भएपछि तत्काल दुबै तर्फको सवारी संचालन रोकिएको हो।
सडक डिभिजन भरतपुरका अनुसार खण्डमा पहिरो पन्छाउन तैनाथ दुईवटा उपकरण संचालनमा ल्याई काम भइरहेको छ। तर निरन्तर वर्षा भइरहेकाले सडक खोल्न समय लाग्ने बताइएको छ।
डिभिजनले जारी गरेको सूचनामा भनिएको छ, “यस खण्डमा वर्षा भइरहेका कारण अझै पनि पहिरो खस्ने उच्च जोखिम छ। अति आवश्यक अवस्थामा बाहेक जोखिम मोलेर यात्रा नगर्नुहुन, यात्रा गर्नै परे सम्बन्धित सुरक्षा निकायसँग समन्वय गरी मात्रै यात्रा गर्न हार्दिक अनुरोध गर्दछौं।”
सडक अवरुद्ध हुँदा यात्रुहरू बिचल्लीमा परेका छन् भने स्थानीय ट्राफिक प्रहरीले सवारी साधनहरूलाई सुरक्षित स्थानमै रोकिरहेका छन्।