उर्लाबारी ।   असोज १८ र १९ गते परेको अविरल वर्षाले कोशी प्रदेशका अधिकांश जिल्लामा ठूलो जनधनको क्षति गरेको छ। विशेषगरी इलाम, मोरङ, सुनसरी र झापा जिल्लामा मानवीय तथा भौतिक क्षति बढी मात्रामा भएको छ।

यस विपदका बेला नेपाली सेनाले हवाई तथा स्थलमार्ग दुबै माध्यमबाट उद्धार कार्य सञ्चालन गर्दै करिब ६०८ जनालाई सकुशल उद्धार गरेको छ। सेनाले विभिन्न स्थानमा तटबन्ध निर्माण, शव संकलन र राहत वितरणमा समेत सक्रिय भूमिका निर्वाह गरेको थियो।

कोशी प्रदेशमा हुनसक्ने क्षतिको पूर्वानुमानका आधारमा पूर्वी पृतना मुख्यालयबाट संवेदनशील स्थानहरूमा उद्धार कार्यका लागि फौजको पूर्वतैनाथी तथा हवाई साधन स्ट्यान्डबाईमा राखिएको थियो। यस कारण उद्धार कार्य सहज र प्रभावकारी हुनसकेको सेनाले जनाएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले मिति २०८२/०६/१५ गते जारी गरेको सूचना तथा जल तथा मौसम विज्ञान विभागको मिति २०८२/०६/१६ गतेको बुलेटिन बमोजिम भारी वर्षाको पूर्वसूचना प्राप्त भएपछि सेनाले कोशी प्रदेशका १४ वटै जिल्लामा विपद् प्रतिकार्यका तयारीहरू गरेको थियो।

उद्धार कार्य अन्तर्गत इलाम जिल्लाको माङ्सेबुङ गाउँपालिका–१ पातीगाउँबाट घाइते गर्भवती महिला सहित ३ जना, सन्दकपुर–मावुङबाट ४ जना र सन्दकपुर–माइपोखरीबाट २ जना गरी जम्मा ९ जना गर्भवती महिलाहरूलाई सेनाको हेलिकप्टरद्वारा उद्धार गरिएको थियो।

त्यसैगरी झापा जिल्लाको मिलनवस्ती क्षेत्रमा डुबानमा परेका १६ जनालाई हवाईमार्गबाट र सोही स्थानमा फसेका ९१ जनालाई डुङ्गा (बोट) द्वारा उद्धार गरिएको थियो।

नेपाली सेनाको समयमै गरिएको तयारी, फौजको पूर्वतैनाथी र हवाई सहयोगका कारण कोशी प्रदेशमा मानवीय क्षति न्यूनिकरण गर्न महत्वपूर्ण योगदान पुगेको स्थानीय प्रशासनले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय