काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने विषयमा सुरक्षा निकायका प्रमुखहरूसँग लगातार छलफल गरिरहेकी छिन् । जेन–जी आन्दोलनका अगुवाहरूले ‘एरेस्ट ओली–लेखक’ अभियान चलाएपछि प्रधानमन्त्री कार्कीले सोमबार मध्यरातसम्म सुरक्षा निकायसँग गम्भीर परामर्श गरेकी हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको मध्यरातको छलफलमा गृहमन्त्री ओमप्रकाश अर्याल, नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुवेर खापुङ, सशस्त्र प्रहरी प्रमुख राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्की, गृहसचिव रामेश्वर दंगाल र सेनापति अशोकराज सिग्देल सहभागी थिए ।

स्रोतका अनुसार गृहमन्त्री अर्यालले ओली र लेखकविरुद्ध दर्ता गर्न लागेको जाहेरीका आधारमा पक्राउ तयारी थालेका थिए । तर काठमाडौं प्रहरी परिसरले जाहेरी दर्ता गर्न अस्वीकार गरेपछि प्रहरीले उच्च स्तरको छलफलमा प्रवेश गरेको हो । जाहेरी दर्ता नगरेपछि गृहमन्त्री अर्याल र आईजीपी खापुङबीच लामो परामर्श भएको थियो ।

सुरक्षा निकायका प्रमुखहरूले प्रधानमन्त्रीलाई तत्काल पक्राउ अभियान अघि बढाउँदा देशभरको वातावरण मुठभेडतर्फ जान सक्ने चेतावनी दिएका थिए । सोही कारण प्रधानमन्त्री कार्कीले तत्काल निर्णय नगरेर थप छलफल जारी राख्ने निर्णय गरेकी हुन् ।

यसैबीच, ‘एरेस्ट ओली–लेखक’ अभियानसँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई पनि पक्राउ अभियानको तयारी भइरहेको सूचना प्रधानमन्त्रीलाई प्राप्त भएको छ । सुरक्षाकर्मीहरूले बालेन पक्राउको सम्भावनाले परिस्थिति झन् संवेदनशील बन्न सक्ने मूल्यांकन गरेका छन् ।

स्रोतका अनुसार गत ९ असोजमा मेयर बालेन शाहले प्रधानमन्त्री कार्कीलाई भेटी ओली र लेखकविरुद्ध कारबाहीको माग गरेका थिए । त्यसको भोलिपल्ट १० असोजमा सेनापति अशोकराज सिग्देलले पूर्वसेनापतिहरूसँग देशको राजनीतिक तथा सुरक्षात्मक अवस्थामाथि छलफल गरेका थिए ।

जेन–जी आन्दोलनका अगुवा सुदन गुरुङ नेतृत्वको समूहले सरकारलाई १८ असोजसम्मको अल्टिमेटम दिँदै ओली र लेखकमाथि कारबाहीको माग गरेका छन् । सो माग पूरा नभए आन्दोलनलाई देशव्यापी बनाउने चेतावनी दिइएको छ ।

हाल प्रधानमन्त्री कार्की निरन्तर सुरक्षा निकायसँग परामर्शमा रहँदै शान्तिपूर्ण समाधान खोज्ने प्रयासमा रहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय