उर्लाबारी नगरपालिका–६ स्थित राधिका माध्यमिक विद्यालयका विद्यार्थीहरूसँग कवि, लेखक, कलाकार, निर्देशक तथा साहित्यकार उपेन्द्र सुब्बाबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

आइतबार विद्यालयको सभाहलमा आयोजित कार्यक्रममा कक्षा ९ देखि १२ सम्मका ८५ भन्दा बढी विद्यार्थीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा विद्यार्थीहरूले साहित्य, सिर्जना प्रक्रिया, अभिनय, जीवन संघर्ष तथा सफलतासम्बन्धी विविध जिज्ञासा राखेका थिए। उठाइएका जिज्ञासाहरूलाई साहित्यकार सुब्बाले सरल, स्पष्ट र प्रेरणादायी ढंगले सम्बोधन गरेका थिए। कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै सुब्बाले आफ्नो जीवनका अनुभव, लेखन यात्राका संघर्ष, कृतिहरूको सिर्जना प्रक्रिया तथा सफलताका पक्षबारे जानकारी गराए। उनले विद्यार्थीहरूलाई मन लगाएर अध्ययन गर्न, असल कर्ममा लाग्न र उच्च मनोबलका साथ लक्ष्यतर्फ अघि बढ्न प्रेरित गरे।

यसै अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोलिम पोमू लिम्बूले पाठ्यपुस्तकको सैद्धान्तिक ज्ञानसँगै साहित्य, सिर्जना र अभिनयजस्ता विधाले विद्यार्थीको क्षमता अभिवृद्धि गर्ने बताए। कथा, साहित्य तथा गीत–संगीतले असल समाज निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै यस्ता सफल व्यक्तित्वलाई विद्यालयमा ल्याएर अनुभव आदान–प्रदान गराइएको उनको भनाइ थियो। कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, प्रधानाध्यापक कुमार पोख्रेल, उर्लाबारी साहित्यिक समाजका प्रतिनिधि, विद्यालयका शिक्षक तथा अन्य अतिथिहरूको उपस्थिति रहेको थियो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लिम्बूको विशेष पहलमा साहित्यकार तथा कलाकार उपेन्द्र सुब्बा उर्लाबारी आएका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय