उर्लाबारी नगरपालिका–१ मा तेलहन बाली पकेट सञ्चालन कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गरिएको छ। उक्त कार्यक्रम राष्ट्रिय कृषि आधुनिकीकरण परियोजनाको सहयोगमा कार्यान्वयन गरिएको हो।
कार्यक्रमका लागि रु. १२ लाख बजेट स्वीकृत गरिएको थियो। कार्यक्रम सञ्चालनको जिम्मेवारी श्री सिंहदेवी कृषक समूह, उर्लाबारी–१ ले लिएको छ। कृषक समूहमार्फत तेलहन बाली उत्पादन प्रवर्द्धनका लागि विभिन्न कृषि सामग्री तथा उपकरणहरू वितरण तथा प्रयोग गरिएको जनाइएको छ।
कार्यक्रमअन्तर्गत कृषक समूहले तोरीको बिउ ४०० केजी, सल्फर ५२५ केजी, त्रिपाल ६० थान, मोटर/बोरिङ २२ थान, पाइप रोल ३० थान, डिजिटल काँटा ८ थान, अरमाना ठेला १५ थान र स्प्रेयर १९ थान सञ्चालन तथा व्यवस्थापन गरेको छ।
कार्यक्रममा कुल लगानी रु. १६ लाख ३३ हजार ८ सय रहेको छ। जसमा नगरपालिकाको लगानी रु. १२ लाख र कृषकहरूको साझेदारी लगानी रु. ४ लाख ३३ हजार ८ सय रहेको छ।
उक्त कार्यक्रममा नगर उप–प्रमुख मीना कुमारी खतिवाडा पौडेल, वडा नम्बर १ का अध्यक्ष तिलक पाण्डे तथा कृषि शाखा प्रमुख अम्बिका प्रसाद लुइटेल लगायतको उपस्थिति रहेको थियो। सहभागीहरूले तेलहन बाली उत्पादन वृद्धि, किसानको आम्दानी अभिवृद्धि तथा आधुनिक कृषि प्रणालीतर्फ कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम महत्वपूर्ण हुने विश्वास व्यक्त गरेका छन्।
नगरपालिकाले आगामी दिनमा पनि कृषक केन्द्रित यस्ता उत्पादनमूलक कार्यक्रमलाई प्राथमिकताका साथ निरन्तरता दिने जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय