उर्लाबारी । नेपालमा पहिलोपटक औपचारिक रूपमा प्रथम राष्ट्रिय च्याउ दिवस मनाइएको छ । सरकारले गत पुस ११ गतेको मन्त्रिपरिषद् बैठकबाट पुस १५ गतेलाई राष्ट्रिय च्याउ दिवसका रूपमा मनाउने निर्णय गरेसँगै देशभर विभिन्न कार्यक्रम आयोजना गरिएको हो ।
यसै अवसरमा मंगलबार मोरङको उर्लाबारीमा पनि प्रथम राष्ट्रिय च्याउ दिवस मनाइएको छ । च्याउ उत्पादन किसान संघ नेपाल, कोशी प्रदेशको आयोजनामा उर्लाबारी नगरपालिकाको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा उर्लाबारी नगरपालिकाकी उपप्रमुख मिनाकुमारी पौडेल खतिवडा प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।
संघकी कोशी प्रदेश अध्यक्ष भूमिका बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघका केन्द्रीय सदस्य तथा पूर्व प्रदेश अध्यक्ष देबेन्द्र बस्नेत, उपाध्यक्ष तेजबहादुर महत, सचिव ध्रुव सन्दास, कोषाध्यक्ष प्रेमप्रसाद कडरिया लगायतले च्याउ खेतीको सम्भावना, चुनौती र भविष्यका योजनाका बारेमा धारणा राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी सरोज बस्नेतले गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै उपप्रमुख पौडेल खतिवडाले च्याउ खेती कम लगानीमा राम्रो आम्दानी लिन सकिने कृषि व्यवसाय भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘च्याउ खेतीले बेरोजगार युवालाई स्वरोजगार बनाउने ठूलो सम्भावना बोकेको छ । पोषणयुक्त र स्वास्थ्यका लागि उपयोगी च्याउको उत्पादन बढाउन स्थानीय सरकारले आवश्यक सहयोग र सहजीकरण गर्न तयार छ ।’ उहाँले उर्लाबारी नगरपालिकाले कृषि तथा कृषक लक्षित कार्यक्रममार्फत च्याउ उत्पादक किसानलाई प्रोत्साहन गर्दै आएको पनि उल्लेख गर्नुभयो।

नेपालमा हाल ७० जिल्लामा च्याउ खेती विस्तार भइसकेको र ४० जिल्लामा व्यावसायिक उत्पादन भइरहेको बताइएको छ । दैनिक करिब एक लाख किलो च्याउ उत्पादन हुँदै आएको संघले जनाएको छ । राष्ट्रिय च्याउ दिवसले च्याउ खेतीप्रति किसानको आकर्षण बढाउनुका साथै यसको बजार, प्रविधि र सम्भावनाबारे जनचेतना अभिवृद्धि हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय