उर्लाबारी । १३ औँ राष्ट्रिय पोल्ट्री दिवसको अवसरमा नेपाल लेयर्स कुखुरा पालक संघ, सुनसरी–मोरङले उर्लाबारी–३ स्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा गर्भवती महिला तथा बिरामीहरूलाई अण्डा वितरण गरेको छ ।
पोषण प्रवद्र्धन तथा स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा उर्लाबारी नगरपालिकाकी उप–प्रमुख मीना कुमारी खतिवडा पौडेल प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै उप–प्रमुख पौडेलले पोषणयुक्त आहारले आमाको स्वास्थ्य सुदृढ बनाउनुका साथै शिशुको समुचित विकास र बिरामीको शीघ्र स्वास्थ्यलाभमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । ‘अण्डा सस्तो, सहज रूपमा उपलब्ध र उच्च पोषणयुक्त खाद्य वस्तु भएकाले गर्भवती महिला तथा बिरामीका लागि अत्यन्त उपयोगी छ’, उहाँले भन्नुभयो । उप–प्रमुख पौडेलले समाजको स्वास्थ्य सुधारमा निजी क्षेत्र र कृषक संघ–संस्थाले खेलेको भूमिकाको प्रशंसा गर्दै यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू निरन्तर सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । नेपाल लेयर्स कुखुरा पालक संघ, सुनसरी–मोरङ कार्यसमितिले आगामी दिनमा पनि पोषण, स्वास्थ्य र कृषकको हितमा केन्द्रित सामाजिक कार्यक्रमहरू सञ्चालन गर्ने जनाएको छ । ४० भन्दा बढी गर्भवती महिला तथा बिरामीलाई अण्डा वितरण गरेको संघका उपाध्यक्ष उमेश थापाले जानकारी दिनुभयो । संघका अध्यक्ष होमनाथ बास्कोटाको सभापतित्वमा भएको उक्त कार्यक्रम सञ्चालन निर्मल कटुवालले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय