उर्लाबारी । मोरङको उर्लाबारी–८ स्थित अरनिको माध्यमिक विद्यालयका १० जना विद्यार्थीहरू मंगलबार विशेष खुसीले झुम्मिए । विद्यालयको ५६ औँ वार्षिकोत्सवको अवसरमा नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा सामाजिक व्यक्तित्व रुपेश खतिवडाको पहलमा उनीहरूलाई छात्रवृत्ति प्रदान गरिएको थियो ।
खतिवडाको तर्फबाट उहाँका बुवा दिनेश्वर खतिवडाले कक्षा १ देखि १० सम्मका कक्षागत उत्कृष्ट तथा जेहेन्दार १० जना विद्यार्थीलाई एक सेट विद्यालय पोशाक र जनही ५ सय रुपैयाँ नगद छात्रवृत्ति वितरण गर्नुभयो ।
उल्लेखनीय कुरा के छ भने, नेता खतिवडाले विगत ९ वर्षदेखि निरन्तर यही विद्यालयका विद्यार्थीहरूलाई छात्रवृत्ति उपलब्ध गराउँदै आउनुभएको छ । उहाँ स्वयं अरनिको माध्यमिक विद्यालयका पूर्व विद्यार्थी हुनुहुन्छ । छात्रवृत्ति कार्यक्रमबारे प्रतिक्रिया दिँदै खतिवडाले सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई प्रोत्साहन दिनु नै आफ्नो मुख्य उद्देश्य रहेको बताउनुभयो । ‘सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उकास्न राज्यको लगानी अझ बढ्न आवश्यक छ,’ उहाँले भन्नुभयो, ‘स्थानीय सरकार, विद्यालय व्यवस्थापन र अभिभावकबीचको सहकार्यले मात्र गुणस्तरीय शिक्षा सम्भव हुन्छ ।’ विद्यालयका प्रधानाध्यापक सूर्यमान सिरेङले खतिवडाको निरन्तर सहयोगले विद्यार्थीहरूमा पढाइप्रति उत्साह बढेको बताउँदै यस्तो पहल अन्य सामाजिक व्यक्तित्वका लागि पनि प्रेरणादायी हुने विश्वास व्यक्त गर्नुभयो । विद्यार्थीहरूको अनुहारमा देखिएको मुस्कान र अभिभावकको खुसीले शिक्षा क्षेत्रमा साना तर निरन्तर प्रयासले ठूलो परिवर्तन ल्याउन सकिने सन्देश दिएको छ ।























