मोरङ क्षेत्र नं. १ बाट नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेद्वारी दर्ता गराएका कुलप्रसाद साम्बा (कुशल) ले उर्लाबारी–७ स्थित नमूना बाल गृहका बालबालिकाहरुलाई लड्डु खुवाउँदै आफ्नो चुनावी अभियानको शुभारम्भ गर्नुभएको छ ।
उम्मेद्वारी दर्ता गरेलगत्तै साम्बा बाल गृह पुग्नुभएको थियो । उहाँले बाल गृहलाई मन्दिरका रुपमा लिने गरेको उल्लेख गर्दै त्यहाँ आश्रित बालबालिकाहरुलाई लड्डु खुवाएर आशीर्वाद लिँदै चुनावी यात्राको सुरुआत गर्नुभएको हो । “बालबालिका नै भविष्य हुन्, उनीहरुको मुस्कान नै मेरो राजनीतिक ऊर्जा हो,” साम्बाले भन्नुभयो ।
पूर्व सांसदसमेत रहनुभएका साम्बाले आफ्नो अघिल्लो कार्यकालमा नमूना बाल गृहलाई उल्लेख्य सहयोग पुर्याएको स्मरण गराउँदै आगामी दिनमा पनि बालबालिका, शिक्षा र सामाजिक सुरक्षाका सवाललाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
हाल उक्त बाल गृहमा देशका विभिन्न जिल्लाबाट आएका करिब ६८ जना बालबालिका आश्रित रहेका छन् । साम्बाको उपस्थितिले बाल गृहका बालबालिका, व्यवस्थापन समिति तथा स्थानीयवासी उत्साहित देखिएका छन् ।























