उर्लाबारी, लेटाङ नगरपालिका वडा नम्बर ८, मोरङ घर भएकी १६ वर्षीया एक बालिकाबाट जन्मिएको एक नवजात पुरुष शिशुलाई आमाले अस्पतालमै छोडी गएपछि उर्लाबारी नगरपालिका–७ स्थित नमुना बालआश्रममा अस्थायी संरक्षणमा राखिएको छ।
मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर, उर्लाबारीले मिति २०८१/१०/११ गते पठाएको पत्र (चलानी नं. ३२४/०८२/०८३) अनुसार मिति २०८१/१०/०९ गते उक्त बालिकाबाट शिशुको जन्म भएको र आमाले शिशुलाई अस्पतालमै छोडेर गएको जानकारी प्राप्त भएको नगरपालिकाले जनाएको छ ।
शिशु बेसहारा भई संरक्षणको आवश्यक अवस्था सिर्जना भएपछि बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ५० को उपदफा (२) बमोजिम तत्काल संरक्षणका लागि नमुना बालआश्रममा अस्थायी रूपमा पठाउने निर्णय गरिएको नगर उप प्रमुख मिना खतिवडा पौडेलले बताइन् ।
यस्तै, अस्थायी संरक्षणमा राखिएका शिशुको दीर्घकालीन व्यवस्थापनका लागि बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ५० को उपदफा (४) बमोजिम नगरपालिकामा सूचीकृत समाजसेवी संस्था ‘नमूना बाल गृह’ लाई अध्ययन गरी वैकल्पिक हेरचाहको व्यवस्था सहित विस्तृत प्रतिवेदन पेश गर्न जिम्मेवारी दिने निर्णय भएको उप मेयर पौडेलले बताईन् ।
त्यसैगरी, शिशुलाई बेवारिसे अवस्थामा छोडी जाने व्यक्तिको खोजी गरी कानुनी दायरामा ल्याउन आवश्यक कारवाहीका लागि प्रकृया अघि बढाईएको उनले जानकारी दिईन् ।
सोमबार उक्त शिशुलाई सुरक्षित संरक्षणका लागि नमुना बालआश्रममा औपचारिक रूपमा हस्तान्तरण गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय