उर्लाबारी । मोरङ क्षेत्र नम्बर १ का राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रतिनिधि सभा सदस्य उम्मेदवार पूर्ण बहादुर वाईबाले वर्तमान राजनीतिक निकास र राष्ट्रिय एकताका लागि जनताले राजसंस्थालाई अभिभावकीय भूमिकामा चाहेको बताउनुभयो ।
चुनावी घरदैलो कार्यक्रमअन्तर्गत मिक्लाजुङ गाउँपालिका वडा नम्बर ९ र ७ मा कार्यकर्ता तथा मतदातासँग गरिएको अन्तरक्रियामा बोल्दै वाईबाले देशलाई स्थिरता र एकताको दिशामा अघि बढाउन अभिभावकका रूपमा राजा आवश्यक रहेको धारणा व्यक्त गर्नुभएको हो । उहाँले राप्रपाले अघि सारेको एजेन्डाअनुसार राष्ट्र बचाउन राजसंस्थालाई अभिभावकीय भूमिकामा पुनःस्थापना गर्ने र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था लागू गर्नुपर्ने विषयमा जनतामाझ छलफल भइरहेको बताउनुभयो । भेटघाटका क्रममा स्थानीय मतदाताले उम्मेदवार वाईबासँग क्षेत्रका विकास, रोजगारी, पूर्वाधार र सेवासुविधासम्बन्धी समस्या तथा सुझाव प्रस्तुत गरेका थिए । वाईबाले ती विषयलाई आफ्नो प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।























