कुनै बेला स्वास्थ्य सुधार गर्न जिम जान थालेकी रजनी श्रेष्ठ आज अन्तर्राष्ट्रिय स्तरकी सफल बडीबिल्डर मात्र होइन, अब संसद्मा पनि देखिने नयाँ अनुहार बनेकी छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक सूचीमा परेपछि उनको जीवनले फेरि अर्को ऐतिहासिक मोड लिएको छ।

मोरङकी रजनीको यात्रा सजिलो थिएन। कम उमेरमै विवाह, परिवारको जिम्मेवारी र त्यसपछि स्वास्थ्य समस्या—घाँटीमा मासुका डल्ला देखिएपछि उनी गम्भीर तनावमा परिन्। नेपाल र भारतका अस्पताल धाउँदा–धाउँदा उनी डिप्रेसनको अवस्थासम्म पुगेकी थिइन्।

यही कठिन समयमा उनका श्रीमान् समिर श्रेष्ठले उनलाई जिम जान सल्लाह दिए। सुरुवातमा रुचि नभए पनि जिमले उनको जीवन नै परिवर्तन गरिदियो।

सन् २०१७ मा उनले बडीबिल्डिङ सुरु गरिन्। सुरुमा उनलाई महिलाका लागि क्याटेगोरीहरूबारे खासै जानकारी थिएन। तर सिक्दै, बुझ्दै अघि बढिन्। त्यही वर्ष ‘मिस्टर काठमाडौं’ प्रतियोगितामा महिला फिजिकतर्फ पहिलो स्थान हासिल गर्दै उनले आफ्नो क्षमता देखाइन्।

पछि उनले युट्युबमार्फत प्रशिक्षण र ज्ञान बढाइन्। एक वर्षको तयारीपछि २०१९ मा पुनः प्रतियोगितामा फर्किँदा उनको शरीर फिजिकबाट बडीबिल्डिङतर्फ रूपान्तरण भइसकेको थियो। दक्षिण एशियाली प्रतियोगितामा सहभागिता जनाउँदा निर्णायकहरूले नै उनलाई बडीबिल्डिङतर्फ लाग्न सुझाव दिए।

सन् २०२३ मा नेपालमै सम्पन्न ५५औँ एशियन बडीबिल्डिङ च्याम्पियनसिपमा उनले ५५ केजी तौल समूहमा स्वर्ण पदक जितिन्। यो उनको पहिलो अन्तर्राष्ट्रिय स्वर्ण थियो, जसले उनलाई राष्ट्रिय मात्र होइन, अन्तर्राष्ट्रिय स्तरमा पनि चिनायो। पुरुष वर्चस्व रहेको बडीबिल्डिङ क्षेत्रमा नेपाली महिलाका रूपमा यस्तो उपलब्धि हासिल गर्नु आफैंमा ऐतिहासिक मानिन्छ।

निरन्तर खेलकुदमा सक्रिय रहँदै रजनी सामाजिक र राजनीतिक गतिविधिमा पनि जोडिँदै गइन्। यही क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी ले उनलाई समानुपातिक सांसदको सूचीमा समेट्यो। रास्वपाले देशभर राम्रो परिणाम ल्याएपछि अब रजनीका लागि संसद्मा प्रवेश गर्ने ढोका खुलेको छ। खेलकुदबाट अनुशासन, संघर्ष र लक्ष्यप्रति प्रतिबद्धता सिकेकी उनी अब त्यही ऊर्जा राजनीतिमा प्रयोग गर्ने तयारीमा छिन्।

रजनी श्रेष्ठको कथा केवल व्यक्तिगत सफलताको कथा होइन—यो संघर्ष, आत्मविश्वास र परिवर्तनको उदाहरण हो। स्वास्थ्य समस्याबाट जुझ्दै जिमसम्म पुगेकी एक महिला आज अन्तर्राष्ट्रिय स्वर्ण पदक विजेता र भावी सांसद बनेकी छन्। उनको यात्रा बताउँछ—सही निर्णय र निरन्तर मेहनतले जीवनको दिशा जुनसुकै बेला बदल्न सक्छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय