काठमाडौं, प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले गरेको आमहड्तालको प्रभाव देशभर परेको छ।

उपत्यकामा केही बढी प्रभाव देखिए पनि उपत्यका बाहिर प्रभाव कम देखिएको प्रहरीले जनाएको छ। चार वटा प्रदेशमा अहिलेसम्म कुनै पनि क्षति भएको छैन भने बाँकी तीन वटा प्रदेशमा छिट्फुट घटना भएका छन्।

बिहान साढे १० बजेसम्मको अवस्था प्रायः सामान्य देखिएको छ।

प्रदेश १ मा अहिलेसम्म स्थिति सामान्य रहेको प्रदेश प्रहरी प्रवक्ता डीएसपी बिपिन रेग्मीले जानकारी दिए।

प्रदेश २ मा अहिलेसम्म २१ जना पक्राउ परेका छन्। वीरगन्जमा १५ जना, रौतहटमा ४ जना र सिरहामा २ जना पक्राउ परेको प्रदेश प्रहरी प्रमुख डीआईजी धिरजप्रताव सिंहले जानकारी दिए। डीआईजी सिंहका अनुसार भित्री सडकमा छिट्फुट सवारी चले पनि पृथ्वी राजमार्गमा गाडीहरु चलेका छैनन्। उपत्यका बाहेक बागमती प्रदेशमा छिट्फुट घटना भएका छन्। बागमती प्रदेश प्रहरी प्रवक्ता मिरा चौधरीका अनुसार चितवनमा ४ वटा गाडी तोडफोड भएका छन्। प्रदर्शनकारीले ढुंगा प्रहार गर्दा चार वटा गाडीमा क्षति पुगेको र एक जना घाइते भएको एसपी चौधरीले बताइन्।

त्यस्तै सिन्धुलीमा रोकी राखेको एउटा ट्रकमा तोडफोड भएको छ। उता स्कटिङ गरिरहेको ट्रक पनि थानाभर्‍याङमा प्रदर्शनकारीले ढुंगा प्रहार गरेर तोडफोड गरेका छन्।

त्यस्तै गण्डकी प्रदेशकाे तनहुँमा १६ जना कार्यकर्ता पक्राउ परेका छन्। कास्कीमा पनि केही कार्यकर्ता पक्राउ गरिएको गण्डकी प्रदेश प्रहरी प्रवक्ता एसएसपी विक्रमबहादुर चन्दले बताए। उनका अनुसार बन्दको प्रभाव परे पनि अन्य क्षति भएको छैन।

लुम्बिनी प्रदेशमा पनि अहिलेसम्म बन्दको प्रभाव देखिए पनि अन्य क्षति नभएको प्रदेश प्रहरी प्रमुख डीआईजी रवीन्द्र धानुकले बताए।

कर्णाली प्रदेशमा प्रहरीले लामो दूरीका गाडी एक ठाउँमा जम्मा पारेर स्कर्टिङ गरेर पठाइरहेको प्रदेश प्रहरी प्रवक्ता एसपी माधवप्रसाद श्रेष्ठले बताए। बन्दको प्रभाव परे पनि अन्य घटना भने यो प्रदेशमा पनि भएको छैन।

सदूरपश्चिम प्रदेशमा पनि बन्दको प्रभाव सामान्य मात्रै परेको छ। पसल तथा कार्यालयहरु खुलेका छन्। पहाडी जिल्लामा भन्दा तराईका जिल्लामा केही बढी प्रभाव देखिएको प्रदेश प्रहरी प्रवक्ता एसएसपी मुकेश सिंहले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय