
विराटनगर । बन्दको उल्लंघन गरेको भन्दै विराटनगरमा नेकपा प्रचण्ड माधव समूहका कार्यकर्ताले केही गाडी र चियाखाजा पसलमा तोडफोड गरेका छन् ।
बन्दको बेला खुल्ला गरेको भन्दै प्रदर्शनकारीले विराटनगर महानगरपालिका–२ स्थित चियाखाजा पसलमा बिहीबार दिउँसो तोडफोड गरेका हुन् ।
पसल बन्द गर्न आग्रह गर्दा सञ्चालकले तातो तेल छर्कने प्रयास गरेकोले भिड आक्रोशित भएर तोडफोड गरेको बन्दकर्ताले बताएका छन् । पसल सञ्चालकले भने तोडफोडका आपूmहरुमाथि समोसा पकाउन तयारी अवस्थामा राखिएको तेल खन्याएको आरोप लगाएका छन् ।
तेलको छिट्टाले लागे श्रीमति बसन्ती सहनी र छोरी बबिता सहनी घाइते भएको पसल सञ्चालक प्रमोद सहनीको भनाइ छ । नेकपा केन्द्रीय सदस्य शिवकुमार मण्डल नेतृत्वमा रहेको भिडले पसल तोडफोड गर्न थालेपछि मण्डलले रोक्ने प्रयास गरेका थिए । तर, उत्तेजित भिडले तोडफोड गरेको हो ।
चिया पसल सञ्चालन गर्दा अवरोध नगर्ने बताएपछि आफूले पसल खोलेको पसल सञ्चालकको भनाइ छ । तोडफोडबाट पसलमा रहेको सोकेसको सिसा फुटेको छ भने खानेकुरा भुइँमा छरपष्ट बनाइएको छ ।
प्रहरीले तोडफोडमा घटनामा संलग्नलाई कारबाहीको दायरामा ल्याउने जनाएको छ । यसअघि सरकारी गाडी तोडफोड गरेको आरोपमा नेकपाको मोरङ संघर्ष समितिका सहसंयोजक पारुल क्षेत्रीसहित ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।
क्षेत्रीसहित संगम चौधरी, शारदा मैनाली, मिरा दाहाल पोखरेल, चम्पा कार्कीलगायतलाई तीनपैनी चोकबाट प्रहरीले पक्राउ गरेको हो । उनीहरुले बा १ झ ९११८ नम्बरको सरकारी गाडीमा ढुंगा प्रहार गरेकोले पक्राउ गरेको मोरङ प्रहरीका डीएसपी मानबहादुर राईले जानकारी दिनुभयो ।
बन्दकर्ताले जनआन्दोलन चोकमा पनि एउटा गाडी तोडफोड गरेका छन् ।