
उर्लाबारी। दुव्र्यसनमा फसेकाहरुलाई उपचारात्मक तथा सुधारात्मक उपायबाट असल तथा सभ्य नागरिक बनाउने उद्देश्यले १५ वर्षअघि उर्लाबारीमा स्थापना भएको जीवन बचाउ उपचार सेवा गृहले १७ सय दुव्र्यसनीको उपचार गरेको जनाएको छ ।
आज आयोजित संस्थाको १५ औं वार्षिक साधारणसभाको अवसरमा उक्त जानकारी गराइएको हो । ‘यहाँ उपचार गरेकाहरुमध्ये ४५ देखि ५० प्रतिशतले समाज उदाहरणीय कार्य गरेका छन्’ संस्थाका अध्यक्ष शेरबहादुर कार्कीले भने, ‘लागु पदार्थ, मादक पदार्थ सेवन गरी जीवनलाई अँध्यारो गतिमा लगिरहेकाहरु उपचारपछि समाजमा उदाहरणीयकार्यमा लागेका छन् ।’ विभिन्न दाता तथा संघसंस्थाको सहयोगमा संस्थाको आफ्नै भवनमा उपचार सेवा सञ्चालन गरिएपछि अहिले सहज भएको संस्थाका इन्चार्ज रविन्द्र दाहालले बताए ।
समाजमा लागू औषध प्रयोगकर्ताहरुलाई लक्षित गरी उपचार, परामर्श तथा समाजमा पुनस्र्थापित गर्ने उद्देश्यका साथ सञ्चालित उपचार गृहमा हाल ४५ जना उपचाररत रहेको उनले बताए । उर्लाबारी नगरपालिकाका नगर प्रमुख खड्ग फागोको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उपप्रमुख लक्ष्मीदेवी भण्डारी, वडा नं. ७ का वडाध्यक्ष वीरबल थापा, उपचार गृहका सल्लाहकार जयधर्म आचार्य, मानबहादुर श्रेष्ठ, नेकपाका नेता गंगाप्रसाद बाँस्तोला लगायतले शुभकामना मन्तव्य राखेका थिए । साधारणसभामा संस्थाका अध्यक्ष शेरबहादुर कार्कीले वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष पवन थापाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
यसैबीच, जीवन बचाउ उपचार सेवा गृहले उर्लाबारी नगरपालिकाको सिफारिसमा वार्षिक २० जनासम्म उर्लाबारीका गरिब, अपाङ्गता भएका, बाबुआमा नभएका, सडक बालबालिकालगायतको निःशुल्क उपचार गरिदिने इञ्चार्ज रविन्द्र दाहालले बताए । गृहमा हाल भारतको आसाम, गुहाटीलगायत प्रदेश १ का विभिन्न जिल्लादेखि कास्कीसम्मका दुव्र्यसनीहरुको उपचार भइरहेको उनले बताए । गत आर्थिक वर्षमा ३४ लाख ६९ हजार ७ सय २५ रुपैयाँ आम्दानी र ४१ लाख ९२ हजार २ सय ७८ रुपैयाँ खर्च भएको कोषाध्यक्षको प्रतिवेदनमा उल्लेख छ ।