
विराटनगर । मोरङको उर्लाबारीका युवा प्रविन बास्तोला मृत्यु प्रकरणमा स्थानीय र आफन्तले उठाएको जिज्ञासा र आशंका निरूपण गर्न प्रहरीले आफ्नो धारणा सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी सन्तोष खड्काले आज विराटनगरमा पत्रकार सम्मेलन आयोजना गरी घटनाको अनुसन्धान र प्रहरीले हालसम्म प्राप्त गरेका उपलब्धिबारे जानकारी गराएका हुन् । एसपी खड्काले मिसिलमा भुलवश मृतकको ठाउँमा अरुको तस्बिर परेकै आधारमा फितलो अनुसन्धान भएको वा प्रहरीले घटनालाई कमजोर बनाएको भन्न नमिल्ने बताए ।
मोरङको उर्लाबारी–५ का ३१ वर्षीय प्रविन बास्तोला गएको पुस ५ गते मृत फेला परेका थिए । सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन (मिसिल) बुझाउँदा मृतकको तीनवटा फोटो राखेकोमा एउटा फोटो भने अर्कै व्यक्तिको परेको थियो ।
एसपी खड्काले भने, “तस्बिर फरक परे पनि मृतकको परिचय फेरिएको छैन । हामीले कर्तव्य ज्यानसम्बन्धी अपराधमै मुद्दा चलाउछौँ । मुद्दा किनारा लागेको होइन, थप दुई आशंकितलाई पक्राउ गर्दै छौँ ।“ एसपी खड्काले प्रहरीबाट कमजोरी भए/नभएको अनुसन्धान गर्न डीएसपी नेतृत्वको छानबिन समितिले काम थालिसकेको जानकारी दिए ।
मृत्यु शंकास्पद भन्दै आफन्तले पुस ९ गते उर्लाबारी–६ का ३१ वर्षीय राजेश रणपहेलीसहितका विरुद्ध इलाका प्रहरी कार्यालय उर्लाबारीमा किटानी जाहेरी दिएका थिए । पक्राउ परेका उनी माघ २ गते सरकारी वकिल कार्यालयको निर्देशनपछि हाजिरी जमानीमा छुटेका छन् । आफन्तले भने तस्बिर फरक परेकोले सरकारी वकिल कार्यालयले मुद्दा अघि नबढाएको बताउँदै आएका छन् ।
प्रविन मृत्यु प्रकरणमा मिसिलमा फरक तस्बिर परेको र अनुसन्धानमा कमजोरी भएको भन्दै आफन्त तथा स्थानीयले प्रहरी कार्यालय घेराउ गरेका छन् । यसैगरी, न्याय माग्दै आफन्त र स्थानीयले विराटनगरस्थित सरकारी वकिलको कार्यालय र मोरङ जिल्ला प्रशासन कार्यालयमा समेत प्रदर्शन गरेका छन् ।
उर्लाबारीको अस्पतालमा मृत अवस्थामा फेला परेका प्रविनको मृत्यु सम्बन्धमा प्रहरीले मिहीन ढंगले अनुसन्धान भइरहेको दाबी गरेको छ । उर्लाबारी प्रहरी कार्यालयका प्रहरी निरीक्षकसहितलाई अनुसन्धानमा तानिएको बताइएको छ । एसपी खड्काले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृतकको पोस्टमार्टम गर्दा उनको मृत्युको कारण ‘भायोलेन्ट एसपाइसिया’ भन्ने रिपोर्ट आएको जानकारी दिए । तर, भिसेरा रिपोर्टको प्रतीक्षा रहेको मोरङ प्रहरीले जनाएको छ ।