
काठमाडौं, म्यान्मार (बर्मा) मा सैनिक ‘कु’विरुद्ध आन्दोलन गर्ने क्रममा सुरक्षाकर्मीको गोली लागेर ३ बालबालिकासहित एकैदिन ३८ नागरिकको मृत्यु भएको छ।
हिजो बुधबारका दिन १४, १७ र १९ वर्षका ३८ प्रदर्शनकारीको मृत्यु भएको म्यान्मारस्थित संयुक्त राष्ट्रसंघीय मानव अधिकारको कार्यालयले जानकारी दिएको हो। गत फेब्रुअरी १ मा नेतृ आङ सान सुची, राष्ट्रपति, मन्त्रीसहित सबै लोकतान्त्रिक नेतालाई नजरबन्दमा राखेर सेनाले राज्यसत्ता हत्याएपछि म्यान्मारमा दैनिक विरोध प्रदर्शन भइरहेको छ।
नागरिकले प्रजातन्त्र पुनर्स्थापनाको माग गर्दै निरन्तर आन्दोलन गरिरहेका हुन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार यसअघि पनि यही फागुन १६ गते सुरक्षाकर्मीले चलाएको गोली लागेर १८ जना तथा फागुन ८ गते ३ जनाको मृत्यु भएको थियो। सबै गरेर म्यान्मारमा जनप्रदर्शनका क्रममा अहिलेसम्म ५९ नागरिकको ज्यान गइसकेको छ।