काठमाडौं, सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीच अचानक वार्ताको घोषणा, तीन चरणका निरन्तर वार्ता र तीन दिनभित्रै गरिएको सहमतिले राष्ट्रिय राजनीतिमा ठूलै तरंग ल्यायो।

प्रधानमन्त्री केपी शर्मा ओली र भूमिगत रहेका विप्लव शुक्रबार एउटै मञ्चमा उभिएर सम्बोधन गरे।

नवलपुरबाट सार्वजनिक भएका विप्लव बालुवाटार हुँदै राष्ट्रिय सभागृहमा पुग्दा त्यहाँको माहौल निकै रोमाञ्चक थियो। सभागृहमा ठूलो संख्यामा मानिसहरु विप्लवको आगमनको प्रतीक्षा गरिरहेका देखिन्थे।

तर, सहमतिमा हस्ताक्षरपछि विप्लवले गरेको १८ मिनेट लामो भाषणले मानिसहरुको जिज्ञासा मेट्नेभन्दा बढाउने काम गर्‍यो। निकै सामान्य खालको सम्बोधनमा उनले भूमिगत राजनीति सुरु गर्नु र छाड्नुका कारण र सरकारसँग भएको तीन बुँदे सहमतिको उदेश्य प्रष्ट पार्न सकेनन्। प्रतिनिधि सभा पुनर्स्थपनापछिको राजनीतिबारे त उनी प्रवेश नै गरेनन्।

उनले आफ्नो गतिविधिलाई केही सैद्धान्तिक र आदर्श राजनीतिको लेप दिन भने खोजे। तर, खुला राजनीतिमा आएपछि उनको पार्टीको अबको रणनीति, प्राथमिकता र कार्यक्रमहरु के हुनेछन् भनी आमजनताले खोजेको जवाफ उनीबाट आएन।

बरु, उनी आफ्नै विगतका निर्णय र भविष्यको उदेश्यप्रति पनि अस्पष्ट देखिए।

विप्लवले २०७३ सालमा गठन गरेको नेपाल कम्युनिस्ट पार्टीले एकीकृत जनक्रान्ति र वैज्ञानिक समाजवादको लक्ष्य अघि सारेको थियो। त्यो कार्यक्रम सफल भयो कि असफल, उनले केही बताएनन्।

सम्बोधनमा उनले संसदीय व्यवस्था कि वैज्ञानिक समाजवाद भन्नेमा जनतामा गएर फैसला गर्नुपर्ने बताए। तर, उनले चुनावमा भाग लिने हो कि होइन, स्पष्ट पारेनन्।

‘नेपालमा आज पनि कसैले सुरक्षित अनुभूति गर्ने स्थिति छैन। विप्लवले भने, ‘हामी त झुपडीभित्र बसेर आयौँ। झुपडीमा पनि त्यो छ। महलमा पनि त्यो छ। सहरमा पनि छ, गाउँमा पनि छ। त्यसैले अब एक पटक फेरि जनतालाई नयाँ फैसला गर्ने वातावरण बनाउन जरुरी छ। जनता के चान्छन्? गम्भीरतापूर्वक छलफल गरौँ। हामी सहकार्य गर्न तयार छौँ।’

उनले आजै भएको तीन बुँदे सहमति कार्यान्वयनमा गम्भीर रहेको बताए।

‘तीन बुँदे सहमतिमा हामी प्रतिबद्ध छौँ। यसलाई पालना गर्छौँ। दृढतापूर्वक भन्छौँ, यहाँ कसैले पनि आशंका या विभिन्न ढंगले उत्तेजनात्मक कुर्तक गर्न जरुरी छैन,’ उनले भने।

वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका संयोजक विश्वभक्त दुलाल आहुतीले कुनै समस्या समाधान गर्ने हिसाबले सरकार र विप्लवबीच वार्ता नभएकोले विप्लवको भाषण पनि अस्पष्ट भएको प्रतिक्रिया दिए।

‘सरकारले आफ्नो हैसियत केही नभएपछि विप्लवलाई वार्तामा ल्याएको देखियो,’ दुलालले भने, ‘विप्लव समूह पनि आफ्नो पार्टीमाथि प्रतिबन्ध हटाउन चाहन्थ्यो, त्यही भयो।’

उनले सरकार र विप्लवबीचको वार्ताको श्रृंखला नै नमिलेकोले दुवैले आफ्ना रणनीति अनुसार कदम चालेको बताए।

‘सरकारले खासै मतलब गरेको जस्तो देखिएन। विप्लव समूहले यसलाई रणनीतिक रुपमा अगाडि बढाउन खोजेको देखिन्छ, त्यो कुरा आगामी दिन देखिन सक्छ,’ दुलालले थपे।

बालुवाटारमा आधा घण्टा
शुक्रबार नवलपुरबाट प्रहरीको स्कर्टिङमा सीधै काठमाडौं आएका विप्लवले धर्मेन्द्र बास्तोला, प्रवक्ता खड्गबहादुर विश्वकर्मा, उदय चलाउने लगायत नेतासँग एक घण्टा छलफल गरे।

त्यहाँबाट बास्तोलाबाहेकका दुई नेतालाई लिएर विप्लव प्रधानमन्त्री भेट्न बालुवाटार गए र आधा घण्टा छलफल गरे। त्यहाँ उनीहरुबीच के के छलफल भयो, त्यसबारेमा दुवै पक्षले बोल्न अस्वीकार गरेका छन्।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले विशेष छलफल मात्र भनेका छन्। विप्लव निकट नेताहरु भने त्यस्तो विशेष छलफल केही नभएको दाबी गर्छन्।

‘बालुवाटारमा हस्ताक्षर गर्ने तीन बुँदे सहमतिको विषयमा मात्र छलफल भएको हो, त्यस्तो विशेष छलफल केही भएन,’ विप्लव निकट एक नेताले  भने।

जुन र घामको तुलना
सरकारसँगको सहमतिलाई विप्लवले जुन र घामको भेटसँग तुलना गरे।

‘एउटा गीत छ, यो कस्तो प्रेम भयो जुन र घामको जस्तो कहिल्यै भेट नहुने भने जस्तो। जुन र घामको भेट हुँदैन भनेर देउडामा गाइन्छ। हामी त्यस्तैत्यस्तै हुन थालेको जस्तो मान्छेले अनुमान गर्थे। तर जुन र घामको पनि भेट हुँदो रहेछ,’ उनले भने।

उत्साहित देखिएनन् विप्लव
राष्ट्रिय सभागृहमा विप्लवको हाउभाउ त्यति उत्साहपूर्ण थिएन। उनले भाषण पनि छोटो गरे।

प्रधानमन्त्री ओलीले उनको हात उठाएर उत्साहित बनाउने कोसिस गरेको जस्तो देखिन्थ्यो।

भाषणमा विप्लवले ओलीबारे निकै कम मात्र बोले। उनले वार्ता प्रक्रियामा धेरैपटक इमान्दारपूर्वक कुरा भएको बताए।

‘यसअगाडि पनि हाम्रो कुरा भएको थियो। इमान्दारीपूर्वक प्रधानमन्त्रीसँग कुरा भएको थियो। हामी कसैमाथि हमला गरेर होइन, हामी नेपाली जनताको श्रममथि उभिएर देश बनाउन चाहन्छौँ। त्यो बनाउने नेतृत्व हामी गरौँ। त्यो छलफल चलेको थियो,’ उनले भने।

विप्लवले उपस्थित नेता कार्यकर्तालाई आश्वस्त पार्न वैदेशिक हस्तक्षेप भए पनि आफूहरु नझुक्ने बताए।

‘कसैले हामीलाई हस्तक्षेप गर्‍यो भने कुनै विदेशीले हामीलाई हमला गर्‍यो, हेप्न खोज्यो भने हाम्रो जीवन यही धर्तीमा गाडिन्छ,’ चन्दले भने, ‘तर झुक्ने छैनौँ। हाम्रो प्रतिबद्धता छ।’ निर्धारित कार्यक्रममा फेरबदल नभए विप्लव एक हप्तामात्र काठमाडौं बस्ने योजनामा रहेको उनका पारिवारिक स्रोतले जनाएको छ।

‘उहाँले काठमाडौंमा एक हप्ता मात्र बस्ने योजना रहेको बताउनुभएको छ, रणनीतिक संयुक्त मोर्चासँगको छलफल र आफ्नै पार्टीको नेताहरुसँग छलफल गरेर फेरि जनताकहाँ फर्कनुहुनेछ,’ स्रोतले भन्यो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय