
सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नाम ऋषि कट्टेललाई दिएसँगै नेकपा एमाले र माओवादी केन्द्र ब्यूँतिएका छन्।
दुई पार्टीको एकीकरणपछि निर्वाचन आयोगले गरेका निर्णय सर्वोच्चले बदर गरिदिएपछि दुई पार्टी पुर्ववत अवस्थामा फर्किएका हुन्।
नेकपा नाम गरेको पार्टी निर्वाचन आयोगमा पहिले नै ऋषि कटेलको नेतृत्वमा दर्ता थियो। तर त्यसपछि छोटकरीमा नेकपा छुट्टा छुट्टै (ने क पा) नाममा दर्ता भएपनि यसलाई फरक मान्न नमिल्ने र पहिल्यै दर्ता भइसकेको नाममा अर्को दल दर्ता गर्न नमिल्ने सर्वोच्चको फैसलामा उल्लेख छ। निर्वाचन आयोगले २०७५ जेठ २३ गते र २०७५ कात्तिक ९ गते गरेको निर्णय राजनीतिक दलसम्बन्धि ऐन, २०७३ को दफा ६(१) (ङ) र राजनीतिक दल सम्बन्धि नियमावली, २०७४ को नियम ९ मा भएको कानूनी व्यवस्था विपरीत भएको देखिएकाले उत्प्रेषणको आदेशबाट बदर गरिएको फैसलामा उल्लेख छ।
सर्वोच्चको फैसलाले आयोगका यी दुबै निर्णय बदर भएपछि नेपाल कम्युनिष्ट पार्टी (एकिकृत माक्र्सवादी लेनीनवादी) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अलग अलग राजनीतिक दलका रुपमा साविककै अवस्थामा कायम रहने सर्वोच्चले प्रस्ट पारेको छ।
अब यी दुई दलले एकीकरण गर्ने भएमा राजनीतिक दलसम्बन्धि ऐन, नियम विपरित नहुने गरी निर्णय गरेर एकीकरण हुन सक्नेछन्। यसका लागि आदेशमा निर्वाचन आयोगलाई भनिएको छ, ‘अबिलम्ब निर्वाचन आयोगमा उपस्थित हुन जानकारी दिई शिघ्र कानुन बमोजिम आवश्यक निर्णय गर्नू गराउनु भनि विपक्षी मध्येको निर्वाचन आयोगका नाममा परमादेश समेत जारी गरिदिएको छ।’
ऋषि कटेलको नेतृत्मा २०७० साउन २२ गते र केपी ओली र प्रचण्डको नेतृत्वमा २०७५ जेठ २३ गते एउटै नाममा पार्टी दर्ता भएका थिए।