काठमाडौं, बैतडीको दोगडाकेदार गाउँपालिका–७, कतोलाकी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ परेका किशोरलाई बाँचुन्जेल जेल सजायको माग गरिएको छ।

जिल्ला अदालत बैतडीमा दायर गरिएको अभियोग पत्रमा उनलाई तीन वटा कसुरमा सजाय माग गरिएको छ। मंगलबार जिल्ला अदालत बैतडीका न्यायाधीश तिलकबहादुर कार्कीको इजलासले १८ वर्ष नपुगेका कारण किशोरलाई बाल सुधारगृहमा राख्न आदेश दिइसकेको छ।

मंगलबार अदालतले डोटीस्थित बाल सुधारगृहमा पठाउन आदेश दिएपछि प्रहरीले उनलाई डोटी पुर्‍याएको छ।

भट्टको हत्या गरेको अभियोगमा फागुन ४ गते गाउँकै ती १५ वर्षीय किशोर पक्राउ परेका थिए। उनले बयानका क्रममा आफूले पुरानो रिसइबीका कारण हत्या गरेको स्वीकार गरेका थिए।

गत माघ २१ गते विद्यालयबाट फर्कने क्रममा बेपत्ता भएकी भट्टको माघ २२ गते घरनजिकैको जंगलमा शव फेला परेको थियो।

किशोरले जबर्जस्ती करणी गरेपछि घाँटी थिचेर कर्तव्य गरी ज्यान मारेको अभियोग पत्रमा उल्लेख छ। यस्तो कसुरमा बाँचुन्जेल सजाय कुने कानुनी व्यवस्था छ।

भागरथी र ती किशोरबीच सात पुस्ताभित्रैको नाता रहेकाले प्रहरीले हाडनाता करणीको अभियोगमा समेत सजाय माग गरेको छ। यसमा थप सजाय हुने छ।

तर, किशोर घटनाको समयमा १५ वर्ष ११ महिनाका मात्रै भएकाले नाबालकसम्बन्धी व्यवस्था कार्यन्वयन गर्न पनि अभियोग पत्रमा माग गरेको छ।

मुलुकी अपराध संहिता २०७४ अनुसार ज्यान मुद्दामा जन्म कैदको फैसला हुने व्यवस्था छ। १८ वर्ष पुगेका महिलालाई जबरजस्ती करणी गरेमा ७ देखि १० वर्ष सम्म कैद सजाय हुने व्यवस्था छ।

हाडनाता करणीमा एक वर्षदेखि ३ वर्षसम्म कैद र १० हजार देखि ३० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।

मुलुकी अपराध संहिता, २०७४ को दफा ४१ मा लेखिएको छ, ‘यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि देहायको कुनै कसुर गर्ने कसुरदारलाई जन्म कैदको सजाय गर्दा जीवित रहेसम्म कैद गर्नुपर्नेछ।’

उक्त दफाअनुसार जवर्जस्ती करणी गरी ज्यान मारेको कसुरमा पनि जन्मकैद हुने व्यवस्था छ।

तर बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ३६ को व्यवस्था अनुसार भने १४ वर्षभन्दा माथि र १६ वर्षभन्दा कम उमेरका बालबालिकाले कुनै कसुर गरेमा निजलाई उमेर पुगेका कसुरदारलाई भन्दा आधा सजाय हुने व्यवस्था छ।

तर, यी किशोरको हकमा भने बाँचुन्जेल कैद सजाय दिने कि बालबालिकासम्बन्धी कसुरअनुसार आधा सजाय छुट दिने भन्ने तजबिज अदालतले नै गर्नसक्ने कानुनका जानकारले बताएका छन्।

यस्तो छ मंगलबार अदालतमा बुझाइएको किशोरको बयान
२०७७ माघ २१ गते बिहान अन्दाजी साढे ८ बजे म घरबाट विद्यालय गएको हुँ। विद्यालयबाट १:४५ बजेको समयमा घरतर्फ फर्किएँ।

विद्यालय समय ३:१५ बजेसम्म हो। त्यो दिन व्यवसायिक अध्ययन र सामाजिक अध्ययन विषय नपढी फर्किएँ।

विद्यालयबाट फर्किंदा मसँगै अध्ययनरत तीन जना पनि खोचलेक बजारसम्म सँगै आएका हौँ। त्यसपछि उनीहरु कपाल काट्न गए, म खोचलेक बजारबाट भिरकट्या हुँदै सिल्लमा पुगेँ।

भागरथीसँग सिल्लमा भेट भयो। सिल्लदेखि म केही नबोली अगाडि गएँ र घटनास्थल स्थित सडकमा पुगेर बसेँ।

अन्दाजी २:२० बजेदेखि ३ बजेभित्र भागरथी पनि उक्त स्थानमा पुगिन्। त्यहाँ मैले उनलाई धकेल्दा सडकको किनारबाट तल लडिन्।

मैले पहिलो चोटी धकेल्दा उनी सडकभन्दा केही तल लडिन्। उनको खुट्टाबाट एउटा सेन्डिल फुत्कियो। लडेको ठाउँबाट उठेर अलिक तल गइन्। म पनि उनको पछिपछि गएँ।

तल जान खोज्दा उनको अर्को सेन्डिल पनि खस्यो। घटना भएको स्थानस्थित मृतकको लास फेला परेको स्थानभन्दा अलि माथि सुरुमा उनी उभिएकै अवस्थामा उनको घाँटी दबाएँ। उनी बेहोस भए जस्तो भएर भुइँमा लडिन्।

मैले सोही स्थानमा एक पटक करणी गर्दा मलाई नमार भनेकी हो। करणी गरिसकेपछि मैले दुवै हातले निजको घाँटी च्यापी मारेको हुँ।

मारिसकेपछि म उनलाई धकेलेकै बाटो भएर माथि सडकमा आएँ।

उनको मोबाइल खसेको थियो। र मोबाइलमा गीत बजिरहेको अवस्थामा फेला पारेँ। मोबाइलको ब्याट्री निकाली शवभन्दा केही पर फालेँ।

सोही स्थानदेखि माथि सडक छेउमा मृतकको घडी पनि रहेछ। उक्त घडी तल झाडीमा फालेँ। त्यसपछि म घर गएको हुँ।

घरतर्फ जाने क्रममा बाटोमा घटनास्थल भन्दा माथिल्लो घुम्तीमा गाउँकै तीन जनालाई भेटेँ। मैले कहाँ जान लाग्नु भयो भनी सोधेँ, उनीहरुले ज्वरो आएर औषधि ल्याउन खोचलेक जान लागेको भनी बताए।

त्यसपछि घर जाने क्रममा पासिमबाटा भन्ने स्थानमा चडेपानीबाट खोचलेकतर्फ एउटा ट्याक्टर आउँदै थियो। ट्याक्टरको अघिल्लो सिटमा मैले चिनेका एक जना थिए।

उनीसँग केही बोलचाल भएन। अन्य कसैलाई देखिनँ। पछि म सरासर लमकट्यास्थित घरमा गएको हुँ।

मृतकको बुबाले मेरो आफन्तलाई जबरजस्ती करणी गरेको भन्ने कुरा म कक्षा ९ मा पढ्दा सुनेको थिएँ। म कक्षा ११ मा भर्ना भइसकेको २-३ दिनपछि भागरथीले उसका केटी साथीहरुसंगै भएको अवस्थामा काले भनी मलाई जिस्काएकी थिइन्। उसका साथीहरुले पनि हासेर मलाई गिज्याए।

सोही कुराको पूर्वाग्रह लिई उसलाई करणी गरिसकेपछि मारेको हुँ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय