
उर्लाबारी । स्थानीय तहमा जनप्रतिनिधि आएको ४ बर्षपछि मोरङको उर्लाबारीमा वडा कार्यालयका भवन निर्माण कार्य सुरु भएको छ ।
आज उर्लाबारी नगरपालिका वडा नं. १ को भवन निर्माणका लागि शिलान्यास गरिएको हो । उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागो, उपमेयर लक्ष्मी देवी भण्डारी, वडाध्यक्ष मचिन्द्र कार्कीलगायतको उपस्थितिमा भवनको शिलान्यास गरिएको छ । २०७८ साल मंसिर मसान्तभित्र भवन निर्माण सम्पन्न गर्ने गरी इटहरीको पाथीभरा कन्स्ट्रम्सनले ठेक्का पाएको छ । ९६ लाख ९४ हजार ३ सय ४४ रुपैयाँ ८५ पैसामा ठेक्का लागेको वडाध्यक्ष कार्कीले जानकारी दिनुभयो । स्थानीय नरबहादुर चौहान र इन्द्रबहादुर चौहानले करिब ५० लाख रुपैयाँ बराबरको अढाई कट्ठा जग्गा निःशुल्क प्रदान गर्नुभएको छ । मेयर फागोले तोकिएको मापदण्डअनुसार सममै भवन निर्माण सम्पन्न गर्न ठेकेदार पक्षलाई निर्देशन दिनुभयो । यसअघि उर्लाबारी नगरपालिका वडा नं. १ र २ को भवन पनि शिलान्यास गरी निर्माण कार्य थालिएको छ ।