
काठमाडौं,नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा आज (शनिबार) पार्टीका संसदीय दल र केन्द्रीय कमिटीका बैठक बस्दै छन्।
प्रधानमन्त्रीको सरकारी निवास (बालुवटार) मा बिहान १० बजे संसदीय दलको र त्यसपछि दिउँसो केन्द्रीय कमिटीको बैठक बस्नेछन्।
तर माधव नेपाल पक्ष दुवै बैठकमा सहभागी नहुने भएको छ। हिजो शुक्रबार बानेश्वरमा बसेको एमालेका वरिष्ठ नेताद्वय माधव नेपाल तथा झलनाथ खनाल पक्षका स्थायी कमिटी सदस्यको बैठकले दुवै बैठकमा सहभागी नहुने निर्णय गरेको हो।
विगतमा संसदीय दलको बैठक दलको कार्यालय वा संसद् भवनमा बस्ने गरेकामा यसपटक प्रधानमन्त्रीको निवासमा राखेर दललाई निजीकरण गर्न लागिएको नेपाल–खनाल पक्षको आरोप छ। ‘केन्द्रीय कमिटी बैठकका नाममा आफ्ना गुटका मानिसलाई मात्र खबर गरी फागुन २८ गते अवैध ढंगले भेला गरी विधान उल्लंघन गरिएकाले उक्त कथित बैठक खारेज नभएसम्म केन्द्रीय कमिटीको बैठक बस्न नसक्ने भएकाले शनिबारका लागि प्रचारित बैठकमा सहभागी नहुने’ निर्णय नेपाल पक्षको स्थायी कमिटी बैठकले गरेको छ।
गत फागुन २३ गते सर्वाेच्च अदालतले ऋषि कट्टेलको नेकपा वैधानिक र एमाले–माओवादी केन्द्र मिलेर बनेको नेकपा अवैधानिक भनेर फैसला गरेपछि पुनर्स्थापित एमालेभित्र रडाको मच्चिएको हो। एमाले पुनर्स्थापना हुनासाथ अध्यक्ष ओलीले फागुन २८ गते आफूनिकट केन्द्रीय सदस्य मात्र बोलाएर एकैदिन केन्द्रीय समितिका दुइटा बैठक राखी अध्यक्ष (आफू) र महासचिव (ईश्वर पोखरेल) बाहेक अन्य शीर्षस्थ पद नरहने निर्णय गर्दै नेपाल–खनाल पक्षलाई पूरै पाखा लगाएका छन्। नेकपा हुँदा प्रचण्डसँग मिलेको रिस पोख्दै उनले नेपाल–खनालको जिम्मेवारी मात्र खोसेका छैनन्, गृहमन्त्री रामबहादुर थापासहित माओवादी केन्द्रका २३ नेतालाई एमालेको केन्द्रीय सदस्यमा मनोनयसमेत गरेका छन्।
त्यसपछि रुष्ट नेपाल–खनाल पक्षले ओलीका निर्णय अवैधानिक भन्दै विरोधमा छुट्टै भेला/बैठक गरिरहेको छ। यसै क्रममा उसले यही चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला तथा हिजो शुक्रबार स्थायी कमिटी बैठक गरेको हो।