
काठमाडौं । भारतमा ४० वर्षपछि जेलमुक्त भएका इलामका दुर्गाप्रसाद तिम्सिना (दीपक) आज आइतबार स्वदेश आइपुगेका छन् ।
कलकत्तास्थित दमदम जेलबाट शनिबार रिहा भएका तिम्सिना आइतबार बिहान नेपाल आइपुगेका हुन् ।
इलामको माई नगरपालिका–१० बाट दुर्गाप्रसाद १९ वर्षको छँदा तोरी बेच्न भन्दै मंगलबारे गएका थिए । त्यहाँबाट आएको पैसा लिएर उनी काम खोज्दै दार्जिलिङ पुगेका थिए । दार्जिलिङमा हत्या आरोपमा पक्राउ परेका उनलाई यसबीचमा विभिन्न जेलमा सारिएको थियो ।
परिवारले उनी आन्दोलनमा मारिएको हुनसक्ने आशंका गरेर माया मारेका थिए । तर, कोलकाताको दमदम कारागारमा दाधेश्याम दास नामका कैदीले उनलाई १० वर्षअघि देखेका थिए ।
गत जनवरीमा पनि दिपकलाई त्यहीँ देखेर सोधपुछ गर्दा उनी ४० वर्षदेखि सुनुवाइ बिना कारागारमा रहेको खुलेको थियो । त्यसपछि दास थुनामुक्त भएपछि उनले वेस्ट बंगाल रेडियो क्लबमा खबर गरेका थिए । त्यसपछि विभिन्न सञ्चारमाध्यममा उनी ४० वर्षदेखि जेलमा रहेको खबर सार्वजनिक भएपछि आफन्तसँगको सम्पर्क हुनाका साथै जेलमुक्त हुनेसम्मको अवसर प्राप्त भएको हो ।
सन् १९८० मा भारतको दार्जिलिङमा पक्राउ परेयता उनले मुद्दाको ‘ट्रायल’बिना नै जेल जीवन बिताइरहेका थिए । सन् १९८२ को जनवरीमा तिम्सिना अदालती ट्रायलका लागि मानसिक रुपमा स्वस्थ नभएको अदालतले भनेको थियो । त्यसपछि जाँचको रिपोर्ट अदालतमा नबुझाइँदा उनले ४० वर्षसम्म कारागारमा बस्नु परेको हो ।