पुजन दास

उर्लाबारी । आन्तरिक पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले मोरङको मिक्लाजुङ गाउँपालिकाको मधुमल्लामा टिकटक रोडको उद्घाटन गरिएको छ ।
नयाँ बर्ष २०७८ सालको अवसरमा आज गाउँपालिकाका अध्यक्ष देवीप्रसाद आचार्यले टिकटक रोडको उद्घाटन गर्नुभएको हो । मिक्लाजुङ गाउँपालिका वडा नं. ७ र ८ मा पर्ने मावा नुनसरी सामुदायिक वन क्षेत्रभित्र करिब ५ सय मिटर सडकलाई टिकटक सडक नामाकरण गर्दै आन्तरिक पर्यटन प्रबद्र्धनको थालनी गरिएको वडा नं. ७ का वडाध्यक्ष सुशिलराज चौहानले जानकारी दिनुभयो । बजारबाट नजिकै र एकान्त ठाउँ भएकाले आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि समेत टिकटक रोड आकर्षक गन्तब्य बन्ने उहाँको भनाई छ ।
मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष आचार्यले आन्तरिक तथा बाह्य पर्यटन प्रबद्र्धनमा गाउँपालिका क्रियाशिल रहेको बताउनुभयो । मोरङकै कर्णालीको रुपमा मानिने मिक्लाजुङमा पर्यटन विकासको प्रचुर सम्भावना रहेको उहाँको भनाई छ । उहाँले टिकटक रोड पनि मिक्लाजुङको एक पर्यटकीय स्थलका रुपमा विकसित हुनेमा विश्वस्त रहेको बताउनुभयो । उक्त टिकटक रोड निर्माणमा स्थानीय युवा सुरेन्द्र थापाकोे अध्यक्षतामा समिति गठन गरिएको थियो । उक्त स्थानमा पिङ, फलैचा र रङ्ग रोगन गरी आकर्षक स्थान बनाइएको छ भने टिकटक रोडको गेट नै तयार गरिएको छ । पर्यटकहरुलाई मन लोभ्याउन बिभिन्न प्रकारका तुल ब्यानरहरु टाँगिएको छ । ढुङ्गाहरुमा कलात्मक रुपमा रङ्गरोगन गरिएको छ । ठूला ढुङ्गाहरुमा केही कलात्मक चित्र र स्ट्याचु निर्माण गरिएका छन् । जसले गर्दा घुम्न आउनेहरुको ध्यान खिचेको थियो ।
टिकटक रोड निर्माणले मधुमल्लाको प्रचार प्रसार साथै यस क्षेत्रको विकासमा समेत सहयोग पुग्ने विश्वास लिएको मावानुनसरी सामुदायिक वनका अध्यक्ष जगत बस्नेतले बताउनुभयो । टिकटक रोड निर्माण गर्न मिक्लाजुङ गाउँपालिका वडा नं. ७ ले १ लाख ५० हजार रुपैयाँ सहयोग गरेको थियो भने अन्य सहयोग सहयोगीदाताहरुले सहयोग गरिएका थिए ।
उद्घाटनको अवसरमा बिहानी कला प्रशिक्षण केन्द्र र डेस्टिनेशन व्याण्डले समेत प्रस्तुति दिएको छ । सो अवसरमा सयौं संख्यामा आन्तरिक पर्यटकहरु अवलोकनका लागि टिकटक रोडमा आएका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय