
पुजन दास, उर्लाबारी
मोरङको उर्लाबारी–७ स्थित अलअरेबिया ओभरसिज प्रा.लि.को शाखा कार्यालयको रुपमा रहेको एजेन्टको अखडा शिल गरिएको छ ।
बैदेशिक रोजगारीमा पठाउने भन्दै अलअरेवियाको अबैध शाखा खोलेर उर्लाबारी–३ का बिमल थापाले बर्षौदेखि एजेन्टको काम गर्दै आएको सूचना पाएपछि शिल गरिएको हो । उर्लाबारी चौकमा नेपाल इन्भेष्टमेण्ड बैंकको कार्यालय भएको घरमा भाडामा अलअरेबिया ओभरसिजको कार्यालय बैदेशिक रोजगार विभागबाट मान्यता प्राप्त नभई सञ्चालन गरिएको पाइएको छ । सो शाखाले अबैध रुपमा एजेन्टको रुपमा काम गर्दै आएको कारण शिल गरिएको जनाइएको छ । इलाका प्रहरी कार्यालय उर्लाबारी र उर्लाबारी नगरपालिका वडा नं. ७ का जनप्रतिनिधिहरुको रोहबरमा अबैध शाखा कार्यालय शिल गरिएको छ । त्यहाँ रहेका कर्मचारीहरुले समेत शाखा कार्यालयका बारेमा आफुहरुलाई केही जानकारी नभएको भन्दै पन्छिएका थिए । बिभागबाट शाखा अधिकृत मात्रिका सापकोटा नेतृत्वको टोलीले अबैध शाखा कार्यालय अलअरेबियामा शिल गरेको छ । बिभागका शाखा अधिकृत सापकोटाका अनुसार कुनै पनि म्यानपावरको शाखा कार्यालयले आफ्नो म्यानपावरको डिमाण्डमा बाहेक काम गर्न पाउँदैन । तर, म्यानपावरका सञ्चालकले नै शाखा कार्यालयको दुरूपयोग हुने गरी सम्झौता सर्त उल्लेख गरिदिएको पाइएको छ । शाखा अवैध भएपछि बिभागले उक्त शाखा शिल
गराएको छ ।
अबैध तरिकाले लामो समयदेखि अलअरेबियाले एजेण्टको काम गर्दै आएको जानकारी प्राप्त भएको अधिकृत सापकोटाको भनाई छ । ‘बोर्डसमेत
नराखी अबैध शाखा खोलेर एजेन्टको काम गरेको पाइयो’ उहाँले भन्नुभयो । उर्लाबारीमा कुनै पनि मेनपावरको शाखा कार्यालय नरहेको उहाँले जानकारी दिनुभयो । शाखा कार्यालय खोलेर एजेन्टको काम गर्दै आएका ब्यक्तिहरुले युवाहरुलाई विदेश पठाउने बहानामा ठगी गर्दै आएको यसअघि पनि सार्वजनिक हुँदै आएको छ ।
यता वैदेशिक रोजगार बिभागका महानिर्देशक कुमारप्रसाद दाहालले वैदेशिक रोजगार क्षेत्रमा मनपरीको हद भएको संज्ञा दिनुभएको छ । यसअघि बिभाग काठमाडौँ मात्र केन्द्रित हुँदा उपत्यका बाहिर मनपरी भएको दाहालले जानकारी दिनुभयो ।
यसविषयमा अलअरेबियाको मुख्य कार्यालयसँग यस विषयमा जानकारी दिन खोज्दा सम्पर्क हुन सकेन । वैदेशिक रोजगार बिभागको टोली आउँदा उर्लाबारीमा शाखा कार्यालयको रुपमा एजेन्ट कार्यालय खोलेका सञ्चालकहरुको भागाभाग हुन पुग्यो । उर्लाबारी आधा दर्जन बढी शाखा कार्यालयको रुपमा एजेन्ट अपिस सञ्चालनमा रहेको बुझिएको छ ।