
उर्लाबारी÷मोरङको उर्लाबारी–मधुमल्ला सडक खण्डका स्थानीय बासिन्दा सडक अवरुद्धलगायतका आन्दोलनप्रति जनता समाजवादी पार्टीले साथ दिएको छ ।
सडकको अवस्था बेहाल रहेकाले स्थानीयबासी मर्कामा परेको भन्दै तत्काल सम्बन्धित निकायको ध्यानाकर्षण हुनु पर्ने जनता समाजवादी पार्टी मिक्लजाजुङ गाउँकमिटीका अध्यक्ष डिएगो चेम्जोङले जारी विज्ञप्तिमा उल्लेख छ । सडक कालोपत्रे गुणस्तरहिन बनेकाले बनिनसक्दै भत्किएको र हाल सडकको अवस्था बेहाल बनेकाले सम्बन्धित निकाय गम्भिर बन्नु पर्ने जनाइएको छ । स्थानीयले सडक निर्माण अलपत्र भएको भन्दै सडकमा बाँसको ढाट राखेर विहीबारदेखि निरन्तर सडक अवरुद्ध गरेका छन् । निर्माण पक्षको लापरबाहीका कारण सडक निर्माण अलपत्र परेको र धुलोले आफूहरु प्रभावित बनेको स्थानीयको गुनासो छ । सडक कालोपत्रे निर्माण कार्य सुरु भएको ९ वर्ष भइसक्दा पनि कार्य नभएका कारण आफूहरुको धैर्यको बाँध टुटेको स्थानीय गजेन्द्र दंगालले जानकारी दिनुभयो । पटक–पटक सडक निर्माण गर्ने आश्वासन पाएपनि काम सुरु हुन नसकेको उहाँको भनाई छ । उहाँले स्थानीयबासीको माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने जानकारी दिनुभयो ।
स्थानीय भक्तिराम पोख्रेलको संयोजकत्वमा संघर्ष समिति गठन भएको छ । सडक निर्माणका लागि सम्बन्धित निकायमा सो समितिले पहल गर्ने जनाइएको छ । २०६९ सालमा ललितपुरको सातदोबाटोस्थित प्रेराज्योति जेभी कन्स्ट्रक्शनले उक्त सडक निर्माणको ठेक्का लिएको थियो । २०७१ जेठ ३ गतेभित्र निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता भएपनि काम नसकी ठेकेदार बिचैमा बेपत्ता भएपछि निर्माण कार्य अधुरो बनेको हो । स्थानीयले सडक निर्माणका लागि गरेको आन्दोलन यो पहिलो भने होइन । पटक पटक आन्दोलन भए । निर्माणको आश्वासन पाएपनि काम हुन सकेको छैन ।