
उर्लाबारी । मोरङको उर्लाबारी–मधुमल्ला जोड्ने सडकको निर्माण कार्य अलपत्र भएपछि स्थानीयबासीले सडकमै पत्रकार सम्मेलन गरेका छन् ।
हिउँदमा धुलाम्मे र बर्षायाममा पानी भरिएका खाल्डाखुल्डीका कारण आवातजावातमा समस्या उत्पन्न भएपछि स्थानीयबासीहरुले सडक अवरुद्ध पारेरै आन्दोलन थालेका हुन् । उर्लाबारी–मधुमल्ला सडक खण्डको उर्लाबारी–५ र ६ को डिबी मार्ग, अबिरल चौक र मधुमल्लामा सडक अवरुद्ध गरिएको छ । सडक कालोपत्रेको माग राख्दै आइतबार उर्लाबारी–५ र ६ मा पर्ने डिबी मार्गमा पत्रकार सम्मेलन गर्दै उर्लाबारी–मधुमल्ला सडक खण्ड मर्मत संघर्ष समितिले माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने बताएको छ । समितिका संयोजक भक्तिप्रसाद पोखरेलले सडक कालोपत्रेको ठेक्का पाएका ठेकेदार बेपत्ता भएपछि सडकको निर्माण कार्य अधुरै रहेका कारण स्थानीयले सास्ती खेप्नु परेको बताउनुभयो । उहाँले बिहीबारदेखि सडक निर्माणको माग गर्दै सडक अवरुद्ध जारी राखेको जानकारी दिनुभयो । सडकको दूरवस्थाका कारण आफूहरूले दुर्घटना र धूलोको सास्ती पाएको उहाँको भनाई छ । पटक पटक सडक कालोपत्रेका लागि आन्दोलन गर्दै आएको भएपनि सम्बन्धित निकाय मौन रहेको भन्दै उहाँले आक्रोश पोख्नुभयो ।
गुणस्तर अनुसारको काम नगरेकाले स्थानीयहरुले पटक पटक बिभिन्न चरणमा काम गर्न दबाब दिएको समितिका सह–संयोजक प्रभू राई बताउनुभयो । सडक कालोपत्रे निर्माण कार्य सुरु भएको ९ वर्ष भइसक्दा पनि कार्य नभएका कारण आफूहरुको धैर्यको बाँध टुटेको सचिब गजेन्द्र दंगालले जानकारी दिनुभयो । पटक–पटक सडक निर्माण गर्ने आश्वासन पाएपनि काम सुरु हुन नसकेको उहाँको भनाई छ । उहाँले स्थानीयबासीको माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने जानकारी दिनुभयो । त्यस्तै, उर्लाबारी नगरपालिका वडा नं. ५ का वडाध्यक्ष भानुभक्त शर्मा पराजुली र ६ नम्बरका वडाध्यक्ष चिन्तामणि पौडेलले सडक निर्माण कार्य पूरा नभएकाले जनताले ठूलो सास्ती खेप्नु परेको भन्दै तत्काल निर्माण कार्य अघि बढाउन माग गर्नुभयो ।
२०६९ सालमा ठेक्का लागेको यो सडकको निर्माण २०७१ जेठ ३ गतेभित्र सम्पन्न गर्नुपर्ने सम्झौता थियो । ललितपुरको सातदोबाटोस्थित प्रेराज्योति जेभी कन्स्ट्रक्शनले उक्त सडक निर्माणको ठेक्का लिएको थियो । तत्कालीन पूर्वाञ्चल डिभिजन सडक कार्यालय, विराटनगरले ठेक्का लगाएको उक्त सडक अहिले प्रदेश सरकारको मातहत छ । २०७७ भदौमा मोरङ क्षेत्र नं. १ का प्रदेश सभा सदस्य कुल प्रसाद साम्बाको बिषेश पहल तथा स्थानीय सरकार र स्थानीयवासी निरन्तरको पहलमा भगनवसेस अवस्थामा रहेको सडको निर्माण कार्य सुरु भएको थियो । ठेक्काको जिम्मा लिई काम गरेको ज्योति कन्ट्रक्सनले गुणस्तरीय र सम्झौता अनुसारको काम नगरेकाले अब सो अधुरो रहेको काम प्रेरा कन्ट्रक्सनले गर्ने सो बेला प्रेरा कन्ट्रक्सनका प्रतिनिधी भुपाल राईले बताएका थिए । तर, केही दिन काम गरेर प्रेरा कन्ट्रक्सनले पनि सडक अलपत्र पारेर छोडेको थियो ।
पटकपटक पत्र काटेर निर्माण सुचारु गर्न आग्रह गर्दा समेत ठेकेदार पक्ष सम्पर्कमा नआएको र सो सडक निर्माणको विषयमा अख्तियारले समेत छानबिन गरिरहेको बताइएको छ । उर्लाबारीबाट मधुमल्ला हुँदै पाँचथरको रवि जोड्ने सडकलाई यस भेगको समृद्धिको मेरुदण्ड मान्ने गरिएको छ । तर, ठेकेदारको लापरवाहीका कारण कालोपत्रे सम्पन्न हुन नपाउँदै बेहाल बनेको छ । तत्कालीन शिक्षामन्त्री नगेन्द्रकुमार प्रधानले ०२८ सालमा उक्त सडक शिलान्यास गरेका थिए । उर्लाबारीबाट रविसम्मको दूरी जम्मा ५२ किलोमिटर छ । शिलान्यास भएको ४६ वर्षपछि उर्लाबारीबाट मधुमल्लासम्मको १२ किमिमा कालोपत्रे भएको थियो । बाँकी खण्ड अझै धुले छ । अहिले पाँचथरको रवि बजार र आसपासका बासिन्दाले उर्लाबारी झर्नु परे मेची राजमार्गको घुमाउरो बाटो करिब दुई सय १३ किमि पार गर्नुपर्छ । रविबाट झापाको दमक जोड्ने करिब ५९ किमिको सडकको २० किमि खण्ड रतुवा खोलामा पर्छ । सोही कारण वषार्याममा उक्त सडकमा पनि यातायातका साधन बन्द हुन्छन् । उर्लाबारी–मधुमल्ला–रवि सडक तयार भए ती दुवै मार्गको विकल्प बन्ने मात्र नभई यात्राको समय पनि छोटिन्छ । ताप्लेजुङ, पाँचथर र इलामका बासिन्दाका लागि तराईसँग जोडिने सहज मार्ग पनि हो यो । उक्त सडकका कुनै खण्डमा पक्की पुल निर्माण गर्नुपर्दैन ।