
उर्लाबारी । मोरङको उर्लाबारीमा व्यापार ब्यवसाय चौपट भएको भन्दै सरोकारवालाले चासो देखाएका छन् ।
उर्लाबारी उद्योग बाणिज्य संघले उर्लाबारीमा ब्यापार ब्यवसाय गिरावट आएको भन्दै चासो देखाएको हो । पूर्वी मोरङकै केन्द्रको रुपमा मानिने उर्लाबारीलाई जोड्ने सडकहरु बेहाल बनेकाले पनि यस क्षेत्रका ब्यवसायीहरु समस्यामा परेको संघका अध्यक्ष प्रितम खड्गीले जानकारी दिनुभयो । कोरोनाबाट थलिएका ब्यवसायीहरु दिनप्रतिनिधि धरासायी बन्दै गएको उहाँको भनाई छ । विकास निर्माणमा भइरहेको अवरोधका कारण पनि ब्यापार ब्यवसायमा समस्या उत्पन्न भएको उहाँले बताउनुभयो । संघले आज पत्रकार सम्मेलन गरी कोरोना भाइरसको महामारीदेखि उर्लाबारीको ब्यापार ब्यवसाय चौपट बनेको जनाइएको छ । संघले उर्लाबारी नगरपालिका क्षेत्रभित्रका उद्योग, ब्यापार, ब्यवसाय र विकास निर्माणको लागि स्थानीय सरकारलाई ध्यानाकर्षण कार्यक्रम गर्ने भएको छ । बैशाख ९ गते बिहीबार दिउँसो १ बजे उर्लाबारी चौकमा उक्त कार्यक्रम गर्ने संघका बरिष्ठ उपाध्यक्ष विनोद न्यौपानेले जानकारी दिनुभयो । उर्लाबारीमा पछिल्लो समय ब्यापार ब्यवसाय गिरावट आएको उल्लेख गर्दै उहाँले समृद्ध उर्लाबारी बनाउनका लागि सबैको हातेमालो जरुरी रहेको बताउनुभयो । संघका पूर्वअध्यक्ष तेजकुमार रिजालले उद्योग ब्यवसाय सञ्चालनमा कठिनाई उत्पन्न भएको महशुस हुन थालेको बताउनुभयो । उर्लाबारी क्षेत्रको विकासका लागि उद्योग ब्यवसायको महत्वपूर्ण भूमिका रहने भएकाले उर्लाबारी क्षेत्रको ब्यापार ब्यवसाय मजबुद बनाउन सम्बन्धित निकाय गम्भिर बन्नु पर्ने उहाँको भनाई छ । सो कार्यक्रममा संघका निर्वतमान अध्यक्ष तथा प्रमुख सल्लाहकार भरत भट्टराई, बाणिज्य उपाध्यक्ष शेरबहादुर भण्डारीलगायले पनि उर्लाबारीमा ब्यापार ब्यवसाय खस्किएको भन्दै चिन्ता ब्यक्त गर्नुभयो । कार्यक्रमको सञ्चालन महासचिब राम थापाले गर्नुभयो ।