उर्लाबारी । मोरङको उर्लाबारी–मधुमल्ला जोड्ने सडक निर्माणको माग गर्दै स्थानीयबासीले एक सातादेखि आन्दोलित छन् ।
बैशाख २ गते बिहीबारदेखि स्थानीयबासीले उर्लाबारी–मधुल्ला सडक अवरुद्ध गरी आन्दोलन गरिरहेका हुन् । स्थानीय भक्तिप्रसाद पोख्रेलको संयोजकत्वमा उर्लाबारी–मधुमल्ला सडक खण्ड मर्मत संघर्ष समिति गठन गरी उर्लाबारी–५ र ६ को डिबी मार्ग, अबिरल चौक र मधुमल्लामा सडकमा बाँसको ढाट राखेर सडक अबरुद्ध गरिएको छ । यसैबीच आज प्रदेश १ भौतिक योजना तथा पूर्वाधार मन्त्री अमिरबाबु गुरूङले स्थलगत निरीक्षण गर्दै समस्या समाधानका लागि पहल गर्ने बताउनुभयो । त्यस्तै, आजै प्रदेश १ लेखा समितिका सभापति शिवनारायण सिंह गन्गाई, मोरङ क्षेत्र नं. १ का प्रदेश सांसद कुलप्रसाद साम्बा लिम्बू (कुशल)लगायतले स्थानीयको आन्दोलनप्रति समर्थन जनाउँदै आफुहरुले सडक निर्माणका लागि पहलकदमी गर्ने बचन दिनुभयो । प्रदेश सरकारले २ करोड ८० लाख रुपैयाँ बजेट नहाल्दा ठेकेदार पक्षले काम रोकेको सांसद लिम्बूको भनाई छ ।
सडक कालोपत्रे निर्माण कार्य सुरु भएको करिब ९ बर्ष हुँदा पनि पूर्णता पाउन सकेको छैन । सडक कालोपत्रेको ठेक्का पाएका ठेकेदार बेपत्ता भएपछि सडकको निर्माण कार्य अधुरै रहेका कारण स्थानीयले सास्ती खेप्नु परेको संघर्ष समितिका संयोजक भक्तिप्रसाद पोख्रेलको भनाई छ । २०६९ सालमा ठेक्का लागेको यो सडकको निर्माण २०७१ जेठ ३ गतेभित्र सम्पन्न गर्नुपर्ने सम्झौता थियो ।
पटकपटक पत्र काटेर निर्माण सुचारु गर्न आग्रह गर्दा समेत ठेकेदार पक्ष सम्पर्कमा नआएको र सो सडक निर्माणको विषयमा अख्तियारले समेत छानबिन गरिरहेको बताइएको छ । उर्लाबारीबाट मधुमल्ला हुँदै पाँचथरको रवि जोड्ने सडकलाई यस भेगको समृद्धिको मेरुदण्ड मान्ने गरिएको छ । तर, ठेकेदारको लापरवाहीका कारण कालोपत्रे सम्पन्न हुन नपाउँदै बेहाल बनेको छ । तत्कालीन शिक्षामन्त्री नगेन्द्र प्रधानले ०२८ सालमा उक्त सडक शिलान्यास गरेका थिए । उर्लाबारीबाट रविसम्मको दूरी जम्मा ५२ किलोमिटर छ । शिलान्यास भएको ४६ वर्षपछि उर्लाबारीबाट मधुमल्लासम्मको १२ किमिमा कालोपत्रे भएको थियो । बाँकी खण्ड अझै धुले छ ।
अहिले पाँचथरको रवि बजार र आसपासका बासिन्दाले उर्लाबारी झर्नु परे मेची राजमार्गको घुमाउरो बाटो करिब दुई सय १३ किमि पार गर्नुपर्छ । रविबाट झापाको दमक जोड्ने करिब ५९ किमिको सडकको २० किमि खण्ड रतुवा खोलामा पर्छ । सोही कारण वषार्याममा उक्त सडकमा पनि यातायातका साधन बन्द हुन्छन् ।
उर्लाबारी–मधुमल्ला–रवि सडक तयार भए ती दुवै मार्गको विकल्प बन्ने मात्र नभई यात्राको समय पनि छोटिन्छ । ताप्लेजुङ, पाँचथर र इलामका बासिन्दाका लागि तराईसँग जोडिने सहज मार्ग पनि हो यो । उक्त सडकका कुनै खण्डमा पक्की पुल निर्माण गर्नुपर्दैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय