
उर्लाबारी । मोरङ क्षेत्र नं. १ का प्रदेश सांसद कुलप्रसाद साम्बा लिम्बू (कुशल) ले तराई र पहाड जोड्ने समृद्धिको उर्लाबारी–मधुमल्ला– रवी सडक निर्माण तीब्र गतिमा अघि बढाउन प्रदेश सरकारको ध्यानाकर्षण गराउने बताउनुभयो ।
आज प्रदेश सांसद लिम्बूले स्थानीयले थालेको आन्दोलनलाई समर्थन गर्दै जनताको भावना विपरीत गर्ने कसैलाई छुट नभएको बताउनु भएको हो । आफुले पटक पटक सडक निर्माणका लागि प्रदेश सरकारको ध्यानाकर्षण गराएको उल्लेख गर्दै आगामी दिनमा पनि सडक निर्माणको सवालमा जस्तोसुकै सहयोग गर्न पछि नपर्ने उहाँको भनाई छ । प्रदेश सरकारले २ करोड ८० लाख रुपैयाँ बजेट राख्न नसकेको कारण ठेकेदारले सडक निर्माण कार्य रोकेको आफुलाई जानकारी प्राप्त भएको र त्यसका लागि प्रदेश सरकारले ध्यान दिन जरुरी रहेको उहाँले बताउनुभयो । यो सडक जसरी भएपनि चाँडो बनाउनु पर्नेमा उहाँको जोड छ । ठेकेदारले गुणस्तरहिन काम गरेकै कारण जनताले यो नियति खेप्नु दुर्भाग्य भएको उहाँले बताउनुभयो । स्थानीयले गरेको आन्दोलनमा आफुले हरेक दृष्टिकोणबाट सहयोग गर्ने प्रतिबद्धतासमेत उहाँले राख्नुभयो । यो वा त्यो वहानामा सडक निर्माण रोक्न नहुने उहाँको तर्क छ ।