
उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिका – ५ मा अवस्थित अरनिको अस्पतालमा स्वास्थ्य विमा कार्यक्रमबाट हालसम्म १० हजार बढीले सेवा लिएका छन् । नेपाल सरकारले सञ्चालन गरेको स्वास्थ्य विमा कार्यक्रम सो अस्पतालमा २०७६ चैत ३ गतेबाट लागु भएको हो ।
स्वास्थ्य विमा कार्यक्रम लागु भएपछि सो अस्पतालमा उपचार गराउनका लागि मोरङको उर्लाबारीसहित रतुवामाई, मिक्लाजुङ, कानेपोखरी, लेटाङ, सुन्दरहरैचा, पथरीशनिश्चरे, बेलवारी, झापाको दमक, गौरादह, इलामको चुलाचुली, लगायतका क्षेत्रबाट विरामीहरु आउने गरेको अस्पतालका संचालक समिती सदस्य बालकुमार सुब्बाले बताउनुभयो । सो अस्पतालमा स्वास्थ्य विमा कार्यक्रमबाट हालसम्म १० हजार ५ सयले सेवा लिएका छन् ।
सो अस्पताल पुर्वपश्चिम राजमार्ग र भित्री सडक खण्डमा हुने गरेका सवारी दुर्घटनामा परेका घाईतेहरुको ज्यान जोगाउने उदेश्यका साथ २०७१ साल जेठ १५ गते स्थापना गरिएको थियो । हाल ५० शैँया क्षमता रहेको सो अस्पतालमा दैनिक रुपमा अर्थोपेडिक, फिजिसियन, गाईनो, इमरजेन्सी, फिजियोथेरापी र भिडियो एक्स रे विभागका ६ जना डाक्टरहरुले २४ शैँ घण्टा सेवा दिँदै आएका छन् । अस्पतालमा डा. सन्दिप अधिकारी, डा. गरिमा भण्डारी, डा. राजेश सिंह, डा. गौरीशंकर झा, डा. विशालप्रतिक मिश्र, डा. लिलासुन्दर श्रेष्ठ, डा. प्रज्वल कोईराला, डा. अमिर घिमिरे, डा. आलोक भण्डारी, डा. उपेन्द्र घिमिरे, डा. प्रभात चालिसे लगायतले सेवा दिँदै आउनुभएको छ ।
सो अस्पतालले प्राय ः सबै खालको रोगहरुको परीक्षण हुने अत्याधुनिक ल्याब परीक्षण सेवा पनि दिँदै आएको छ । सो अस्पतालको ल्याबमा कल्चर र बायोस्पी लगायतका परीक्षणलाई पनि स्याम्पल संकलन गरी सम्बन्धित ठाउँमा पठाउने सेवा दिँदै आएको छ । सो अस्पतालले यस क्षेत्रका ४ सय बढी मधुमेह रोगका विरामीहरुलाई कार्ड वितरण गरी नि स् शुल्क नियमित परीक्षण समेत गर्दै आएको छ । सो अस्पतालले भरतपुर क्यान्सर अस्पताल र विपि क्यान्सर अस्पतालसँगको सहकार्यमा क्यान्सर सुचना केन्द्रको समेत स्थापना गरी ५ हजार भन्दा बढी महिलाहरुको पाठेघरको मुखमा हुने क्यान्सर सम्बन्धी भिआईए परीक्षण गरेको छ ।
सो अस्पतालले आगलागीबाट जलेका, बिभिन्न दुर्घटनाका घाईतेहरु लगायत १० भन्दा बढी बिपन्न विरामीहरुको नि ः शुल्क उपचार समेत गरेको अस्पताल संचालक समिति सदस्य सुब्बाले जानकारी दिनुभयो । अस्पतालले नेपाल सरकारको सुरक्षित मातृत्व र सुरक्षित गर्भपतन, आमा सुरक्षा कार्यक्रम पनि संचालन गर्दै आएको छ । अस्पतालले चाँडै नै स्तरोन्नति गर्दै आईसियु, एनआईसियु, सिटीस्क्यान, हाईकेयर सेन्टर लगायतको सेवा पनि संचालन गर्ने तयारी गरेको छ । अस्पतालले आगामी दिनहरुमा पनि अन्य धेरै सेवासुबिधाहरु थप गर्दै लैजाने योजना रहेको अस्पताल व्यवस्थापन समितीका अध्यक्ष लोलिम पोमु लिम्बुले जानकारी दिनुभयो ।