उर्लाबारी । स्थानीय तहका जनप्रतिनिधिले उर्लाबारीलाई समृद्ध बनाउने संकल्प गरेका छन् ।
आज उर्लाबारी उद्योग बाणिज्य संघले गरेको उर्लाबारी नगरपालिका क्षेत्रभित्रका उद्योग, ब्यापार, ब्यवसाय र विकास निर्माणको लागि स्थानीय सरकारलाई ध्यानाकर्षण कार्यक्रममा त्यस्तो साझा अठोट लिइएको हो । बजेट, कार्यक्रम ल्याउनेदेखि नीति बनाउने तहमा प्रभावकारी भूमिका खेल्ने प्रतिबद्धता जनप्रतिनिधिबाट आएको छ । कार्यक्रममा बोल्दै उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले उर्लाबारी नगरलाई समृद्ध र नमूना शहर बनाउन कुनै कसुर बाँकी नराख्ने उद्घोष गर्नुभयो । ‘उर्लाबारीकोे समृद्धि हाम्रो एकमात्र लक्ष्य हो’, मेयर फागोले भन्नुभयो–‘विकासका लागि दृढ भएर लागेका छौं ।’ सडक, विद्युत, पुल, पर्यटन, शिक्षा, कृषि, खानेपानी, स्वास्थ्य, सिँचाइ, उद्योग, व्यापार क्षेत्रलाई जोड दिइएको उल्लेख गर्दै उहाँले जनभावना विपरीत कुनै काम नगर्ने प्रतिबद्धतासमेत ब्यक्त गर्नुभयो । जनताले तिरेकोे करबाट आफुले एक रुपैयाँ पनि भ्रष्टचार नगरेको दाबी गर्दै नगरपालिकाबाट कसैलाई एक रुपैयाँ भ्रष्टचार गर्न नदिने उहाँले उद्घोष गर्नुभयो । पछिल्लो समय आफुविरुद्ध नियोजित रुपमा केही समूह लागि परेको भएपनि त्यसले कुनै असर नगर्ने उहाँको भनाई छ । त्यस्तै, उर्लाबारी नगरपालिकाकी उपमेयर लक्ष्मीदेवी भण्डारीले उर्लाबारीबासीको समस्या समाधान गर्न नगरपालिका प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । विकास विरोधी समूहहरुले नगरपालिकाले गरेका गतिबिधिमा अवरोध गराउने चेष्टा गरिरहेकाले त्यसप्रति सचेत रहन नगरबासीमा उहाँले अनुरोध गर्नुभयो । उहाँले भौतिक पूर्वाधारसँगै शिक्षा, स्वास्थ्यलगायतमा नगरपालिकाले काम गरिरहेको बताउनुभयो । विकासमा सबै पक्षले एक नीति अपनाउनुपर्ने उहाँले विचार राख्नुभयो । कार्यक्रममा उर्लाबारी उद्योग बाणिज्य संघका पूर्वअध्यक्ष तेजकुमार रिजालले ब्यापार, ब्यवसायसहित नगर विकासका लागि खाका प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन महासचिब रामबहादुर थापाले गर्नुभयो । कार्यक्रम संघका अध्यक्ष प्रितम खड्गीको सभापतित्व एबं बरिष्ठ उपाध्यक्ष विनोद न्यौपानेले स्वागत मन्तब्य राख्नु भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय