काठमाडौं । १२ वैशाख २०७२ सालको विनाशकारी भूकम्पको पहिलो धक्काले नै ढालेको ऐतिहासिक धरहरा ६ वर्षपछि पुनः ठडिएको छ ।
पुनर्जीवन पाएको नवनिर्मित धरहराको आज शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् । भूकम्प आएकोभन्दा दिनभन्दा एक दिन अगाडि नै लोकतन्त्र दिवसको दिन पारेर प्रधानमन्त्री ओलीले आज धरहराको उद्घाटन गरेका हुन् ।
धरहरामा राखिएको शिलालेख अनावरण गरेपछि उनी धरहराको बालकोनीमा पुगेका थिए । त्यहाँबाट उनले काठमाडौं उपत्यकाको दृष्यावलोकन गरेका थिए । लिफ्टबाट २०औं तलामा रहेको बालकोनीमा पुगेर प्रधानमन्त्री ओलीले पुष्प वृष्टिसमेत गरे ।
२०७२ सालको भूकम्पमा भत्किएको धरहरा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माण गरेको हो । ‘मै बनाउँछु मेरो धरहरा’ अभियान सञ्चालन गर्दै उनै प्रधानमन्त्री ओलीले २०७५ पुस १२ गते धरहरा पुनर्निर्माणको शिलान्यास गरेका थिए ।
करिब अढाई वर्षमा धरहराको निर्माण सम्पन्न भए पनि त्यससँग सम्बन्धित अन्य संरचनाहरु निर्माणका काम तीव्र रुपमा भइरहेको छ । प्राधिकरणले भूकम्पपछिको ६ वर्ष अवधिमा पुनर्निर्माण र पुनःस्थापना प्रमुख क्षेत्र निजी आवासमा ९३ प्रतिशत उपलब्धि प्राप्त भएको जनाएको छ ।
नवनिर्मित धरहरा २५ तल्ला अग्लो छ । जमीनमुनि २ तला, सतहमा १ तल्ला र बाँकी २२ तल्लासहित नयाँ धरहरा २५ तल्लाको बनेको छ ।
यसको अग्लाइ जमीनबाट ८३.८५ मिटर रहेको छ । १९९० सालको भुइँचालोअघि धरहरा ११ तलाको थियो । सो भुइँचालोले दुई तला भत्किएपछि ९ तलामा सीमित भएको थियो ।
धरहराको उदघाटन गरिए पनि पुनर्निर्माणको सबै काम भने सम्पन्न भइसकेको छैन । त्यसैले अहिले नै धरहरा अवलोकन गर्न जान पाइँदैन ।
धरहरामा हाल दुईवटा लिफ्ट जडान गरिएको छ । यद्यपि तत्काललाई एउटा मात्र लिफ्ट सन्चालन गरिएको छ । पार्किङ क्षेत्र, बगैंचालगायतको काम पनि जारी छ । २०७२ साल वैशाख १२ को भूकम्पले भत्किएर बाँकी रहेको धरहराको तल्लो भागलाई सिसाभित्र राख्ने योजना समेत प्राधिकरणका सचिव गेलालले बताए ।























