विराटनगर । नेकपा (एकीकृत समाजवादी)को प्रदेश १ संसदीय दलको नेतामा राजेन्द्र राई चयन भएका छन् ।

सोमबार बसेको संसदीय दलको बैठकले राईलाई नेता चयन गरेको हो । बैठकले भीमप्रसाद आचार्य नेतृत्वको प्रदेश सरकारलाई समर्थन नरहेको निर्णयको जानकारी आजै प्रदेशसभा सचिवालयलाई दिने तयारी गरेको पनि जनाएको छ ।

‘बैठकबाट हामीले राजेन्द्रजीलाई दलको नेता चयन गरेका छौं,’ समाजवादीका सांसद उपेन्द्र घिमिरेले भने, ‘आज प्रदेशसभामा त्यसको र सरकारलाई समर्थन नरहेको जानकारीसहितको पत्र पठाउने छौं ।’ प्रदेश १ मा एकीकृत समाजवादीको पक्षमा १० जना सासदले सनाखत गरेका थिए ।

उनीहरूले गरेको सनाखत शुक्रबार निर्वाचन आयोगले सदर गरेको थियो । राजेन्द्र राई, राजन राई, उपेन्द्र घिमिरे, सावित्रा रेग्मी, खिनु लङ्वा लिम्बू, गणेश काङ्माङ, कृष्णकुमारी राई, पदमकुमारी गुरुङ, सुनिता चौधरी र सरिता थापाले सनाखत गरेपछि एमालेले प्रदेशसभामा बहुमत गुमाएको छ । बहुमतप्राप्त दलको नेताको रुपमा मुख्यमन्त्री नियुक्त भएका भीम आचार्य अल्पमतमा परिसकेकोले अब असोज २४ गतेभित्र विश्वासको मत लिनुपर्छ ।

प्रदेशसभामा हाल कायम रहेका ९२ सदस्यमध्ये सभामुखसहित नेकपा एमालेका ४१, नेपाली काँग्रेसका २१, नेकपा माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ र राप्रपाका १ सांसद छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय